तातोपानी नाका आउँदो साता सञ्चालनमा आउने

काठमाडौँ । भूकम्पपछि बन्द रहेको नेपाल–चीन जोड्ने तातोपानी नाका आउँदो साताभित्रै पुनः सञ्चालनमा आउने भएको छ । नेपालका लागि चिनियाँ राजदूत हाउ याङ्छीले जिम्मेवारी सम्हालेपछि पहिलोपटक दूतावासमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सो जानकारी दिएकी हुन् ।

यो नाका अहिले कार्गो ओसारपसारका लागि मात्र खुला गरिने बताउँदै तत्कालका लागि यसबाट मानव अवतजावत खुला नगरिने स्पष्ट गरिन् । उनले भनीन् , “सन् २०१५ को विनाशकारी भूकम्पबाट त्यहाँका भौतिक संरचनामा नराम्रो क्षति भएको थियो ती संरचना अझै पूर्ण रुपमा पुनःनिर्माण गर्न सकिएको छैन । त्यसैले त्यहाँ मानव आवतजावतका लागि अझै खतरा छ । ”

उनले सो क्षेत्रमा आवश्यक पूर्वाधारको पुनःनिर्माणमा अझै धेरै काम गर्न बाँकी रहेको उल्लेख गर्दै नेपालका तर्फबाट पनि पूर्वाधारको सुधारमा प्रयास हुनुपर्ने बताइन् । चीनमा हालै आयोजित दोस्रो बेल्ट एन्ड रोड फोरममा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुनु र प्रमुख वक्ताका रुपमा मन्तव्य राख्नुले बेल्ट एन्ड रोड इनिसिएटिभमा नेपालको पूर्ण समर्थन रहेको स्पष्ट भएको बताइन्।

कतिपय मुलुकले बीआरआईलाई ‘डेब्ट ट्रयाप’ (ऋणको पासो) भन्ने गरेको र यस मार्फत चीनले केही मुलुकमा ऋण थप्दै लगेर पासोमा पार्छ भन्ने आरोपमा कुनै सत्यता नरहेको बताइन् । राजदूत हाउ बीआरआई सहयोग मुख्य खेलाडीका रुपमा रहेका व्यवसायीले स्वाभाविक रुपमा वजारको कानुन अनुसार नै काम गर्ने हुँदा उनीहरू पैसा गुमाएर समाप्त नहुने बताइन् ।

उनले भने, “ धेरै जस्तो विकासशील मुलुकको विकासका लागि पैसा र लगानी चाहिको छ । चीनले पनि अन्य अन्तर्राष्ट्रिय वित्तीय निकायले गरे जस्तै गरी बराबर हैसियतमा छलफल गरी कुनै राजनीतिक सर्त बिना नै रकम उपलब्ध गराउँछ ।” उनले बीआरआई खुला, समावेशी र परदर्शी रहेको पनि स्पष्ट पारिन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री