काठमाडाैँ । बझाङको साइपाल गाउँपालिकाको फराली खेतमा यार्सागुम्बा टिप्न पाउनुपर्ने माग राख्दै तलकोट गाउँपालिकाका बासिन्दाले बुधबार त्यहाँसम्म पुग्ने बाटो बन्द गरिदिएका छन्। साइपाल–३ का बासिन्दाले सामुदायिक वनका नाममा सो ठाउँमा यार्सागुम्बा टिप्न नदिने भएपछि तलकोट–४ का बासिन्दाले नाकाबन्दी गरिदिएका हुन्।
वडा ४ का पनालत, स्याडा, कुवा, लोकन्ड र जाडले गाउँ भएर मात्र साइपल पुग्न सकिन्छ। यो खबर आजको नागरिक दैनिकमा बझाङबाट जगत खड्काले लेखेका छन्।
१० वर्षदेखि यार्सागुम्बा टिपिँदै आएको फराली खेतमा त्यसरी रोक लगाइएपछि ठूलो अन्याय भएको संघर्ष समितिका संयोजक एवं साबिक मेलाबिसौना गाविसका पूर्वउपाध्यक्ष डबल जेठाराले बताए।
‘साइपाल–३ का बासिन्दाले गोप्य रूपमा वन कर्मचारीसँग मिलेर त्यस ठाउँलाई सामुदायिक वन बनाएको र हामीलाई यार्सा टिप्न नदिने निर्णय गरेकोप्रति हाम्रो आपत्ति छ,’ उनले भने।
त्यस्तो निर्णय भएको जानकारी पाएलगत्तै डिभिजन वन कार्यालय र प्रहरी प्रशासनमा उजुरी गरे पनि कसैले चासो नदिएपछि आफूहरूको मागप्रति ध्यानाकर्षण गराउन बाध्य भएर वडावासीको बैठक बसी बाटो बन्द गर्ने निर्णय गर्नुपरेको उनको भनाइ छ।
‘वर्षौंदेखि यार्सागुम्बा टिप्दै आइएको फराली खेतमा हाम्रो पनि अधिकार छ। त्यही अधिकार प्राप्त गर्न साइपाल जाने भेडा, खच्चर, भरियालगायत बटुवाहरू हिँड्ने बाटो पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेका हौं,’ संयोजक जेठाराले भने, ‘दुवै गाउँपालिकाका कतिपय बासिन्दा आपसमा आफन्त छौं, बिहावारी चल्ने भएकाले दुवैतिर छोरीबुहारी छन्, त्यति गहिरो सम्बन्ध भए पनि त्यसको बेवास्ता गर्दै यार्सागुम्बामा बन्देज किन लगाइयो भन्ने हाम्रो प्रश्न हो।’
सार्वजनिक रूपमा बाटो पूर्ण रूपमा बन्द भएको सूचना टाँस गर्नुका साथै साइपाल र तलकोट दुवै गाउँपालिकालाई त्यसबारे जानकारी गराएको उनले बताए। ‘यदि कसैले हाम्रो बन्दको उल्लंघन गरे स्वयं व्यक्ति जिम्मेवार हुनेछ,’ सूचनामा भनिएको छ।
एक घर एक सेन्ट्री
बैठकले २४ घन्टासम्म बाटोमा एक घर एक सेन्ट्री बस्ने र त्यतिबेला जस्तोसुकै प्रतिकारका लागि तयारी अवस्थामा रहने निर्णय गरेको जनाइएको छ।
‘हामीले २०७५ माघ ६ र २०७६ वैशाख २९ गते जिल्ला वन कार्यालय र प्रहरी प्रशासनलाई जानकारी गराउँदा पनि कुनै सुनवाइ भएन,’ संघर्ष समितिका संयोजक जेठाराले भने, ‘अघिकार खोज्न यस किसिमको संघर्षको विकल्प देखेनौं।’
साइपाल गाउँपालिकाका बासिन्दाले आफ्नो क्षेत्र ९वन० को अधिकार प्रयोग गरेपछि आफूहरूले पनि आफ्नो क्षेत्रको जमिनको अधिकार प्रयोग गरी बाटो बन्द गरेको भनाइ गाउँलेहरूको रहेको तलकोट–४ का वडाध्यक्ष मनवीर घर्तीले बताए।
‘फराली खेतमा हामीले जान पाए बाटो खुल्छ, नभए उनीहरूका लागि बाटो बन्द गरिन्छ भन्ने गाउँलेहरूको मत छ,’ उनले भने, ‘अब दुवै पक्ष बसेर यो समस्याको समाधानको पहल गर्नुपर्छ।’ बाटो रोकेको ठाउँमा प्रहरी प्रशासनको उपस्थिति उपस्थिति नदेखिएको उनले बताए। फराली खेतमा गाउँलेबाहेककालाई भ्याट लिएरै भए पनि जान दिनुपर्ने उनको धारणा छ।
‘कानुनी उपचार खोज्छौं’
तलकोटका बासिन्दले साइपाल जाने प्रवेशमार्ग रोकेकोप्रति आश्चर्य प्रकट गर्दै समस्या समाधानका लागि कानुनी बाटो खोज्ने बताइएको छ। आफ्नो अधिकार प्रयोग गर्दा तलकोटवासीको टाउकोदुखाइ हुनु दुःखद भएको साइपालवासीको भनाइ छ।
राज्यले सिंहदरबारको अधिकार तीन तहमा विभाजन गरेको अवस्थामा आफ्नो क्षेत्राधिकारभित्र रहेर निर्णय गर्दा बाटो बन्द गरिँदा अनावश्यक द्वन्द्व निम्तिएको उनीहरू बताउँछन्। साइपालवासीका अनुसार तलकोट–४ का बासिन्दा यार्साका लागि चौथो तहका उपभोक्ता हुन्।
दोस्रो र तेस्रो तहका उपभोक्ता साइपालमै छन्। कानुनले दिएको अधिकार गाउँलेले प्रयोग गरेर फराली खेतलाई सामुदायिक वन बनाएपछि महिला बालबालिकालाई यार्सागुम्बा टिप्न सजिलो भएको साइपाल–३ का अध्यक्ष जंगवीर बोहराले बताए।
‘हामी प्रतिकार गर्ने मनस्थितिमा छैनौं, कानुनी उपचारको बाटो खोज्छौं,’ उनले भने, ‘हाम्रो गाउँपालिकामा प्रवेशका लागि तलकोटबाहेक अन्य विकल्प छैन।’ बाटोमा सबैको अधिकार हुने भएकाले कसैले छेक्न नमिल्ने उनको भनाइ छ।
सबै गाउँलेको सल्लाहमा यार्सागुम्बा संकलन गर्न सहज हुने र वनको संरक्षणमा पनि टेवा पुग्ने भनेर फागुनमा फराली खेतलाई सामुदायिक वन बनाएको स्थानीय जसमल बोहराले बताए। ‘वन हाम्रो हो।
पाँच वर्षपहिले पनालतका र लोकन्डका मान्छेहरूले हाम्रै वनमा आएर हामीमाथि नै कुटपिट गरेर उल्टै हामीलाई एक लाख रुपैयाँभन्दा बढी जरिवाना गराए,’ उनले भने, ‘आगामी दिनमा त्यस्तो घटना दोहोरिन नदिन हामीले अरूलाई यार्सागुम्बा संकलनमा अरूलाई रोक लगाएका हौं।’
सबै छिमेकी र इष्टमित्र भएकाले झगडाको सट्टा मित्रता हुनुपर्ने साइपाल गाउँपालिका अध्यक्ष राजेन्द्र धामीले बताए।
‘बाटो कसैले रोक्न पाउँदैन,’ उनले भने, ‘सामुदायिक वन भएकाले फराली खेतमा यार्सा टिप्न रोक लगाइए पनि साइपाल गाउँपालिकाभित्रकै राईढुंगी, माझा, चाला वन, कालापानीलगायत १२ वटा वनमा यार्सागुम्बा संकलन गर्न सबैका लागि खुला गरिएकै छ।’
उनले केही कमजोरी जिल्ला वनको पनि रहेको उल्लेख गरे। ‘तलकोट गाउँपालिका अध्यक्ष, प्रहरी प्रशासन र दुवै पक्षका स्थानिय बोलाएर मिलाउने प्रयास गर्नेछु,’ उनले भने। जिल्लामै सबैभन्दा बढी वन क्षेत्र साइपालमा भएको उनको भनाइ छ।
बाटो बन्द गरिएपछि अन्य विकल्प नहुँदा विद्यालयको पौष्टिक आहार, खाद्यान्न र पसलको सामान लिएर गएका ६० खच्चर र गाउँपालिकाको सामान बोकेर गएका थुप्रै भरिया बीच बाटामै अपलपत्र परेका छन्।
बाटो बन्द हुँदा समेत केही जानकारी नभएको भन्दै स्थानीय प्रशासन र प्रहरीले चासो नदिएको पीडितको आरोप छ। ‘एक कदम अघि बढे जस्तोसुकै पनि घटना घटना सक्ने चेतावनी दिइएपछि बीच बाटामै पाल टाँगेर बस्नुपरेको साइपाल–३ का खच्चर मालिक समीर बोहराले बताए।
‘विद्यालयका लागि १३ कट्टा चामल, तीन कट्टा दाल, दुई पेटी तेल र अरू व्यापारीको सामान गरेर १४ खच्चरमा भारी ल्याउँदै थिएँ,’ उनले भने, ‘गाउँलेको डरले केही नबोली बस्नुप¥यो। यस्तै हो भने अब कसरी जिउने?’




