नेपाल स्टक एक्सचेन्जको शाखारहित ब्रोकर सेवा अवधारणाकाे तयारी सुरु, धितोपत्र बोर्डमा प्रस्ताव

काठमाडौँ । ब्रोकर नभएका कारण दोस्रो बजारमा शेयर कारोबार गर्न नपाउने अवस्थाको अन्त्य गर्न नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शाखारहित ब्रोकर सेवा अवधारणाकाे तयारी सुरु गरेकाे छ। ब्रोकर कम्पनीले ग्रामिण क्षेत्रमा आफ्ना प्रतिनिधिमार्फत कारोबार गराउने व्यवस्थासहित यो अवधारणा नेप्सेले सुरु गरेकाे हाे ।

नेप्सेले धितोपत्र ऐन २०६३ अनुसार बजार प्रतिनिधि राखेर कारोबार गर्न पाउने व्यवस्था कार्यान्वनमा लैजान नेपाल धितोपत्र बोर्डमा प्रस्ताव गरेको छ। ऐनको दफा ५७को उपदफा(२)को दफा (१)को (ख)मा धितोपत्र व्यवसाय गर्न प्रतिनिधि नियुक्त गर्न सक्ने व्यवस्था रहेकाे छ। नेप्सेले यही व्यवस्था टेकेर ब्रोकर कम्पनीका प्रतिनिधी राखेर शेयर कारोबारको व्यवस्था गर्न लागेको हो।

प्राथमिक बजारमा शेयर सहजै खरिद गर्न सकिने तर त्यही शेयर दोस्रो बजारमा बिक्री गरी नगदमा परिणत गर्न भने लगानीकर्तालाई समस्या छ। साना लगानीकर्ताले १०/२० कित्ता शेयर बेच्न सदरमुकाम पुग्नुपर्छ। लामो बाटोको यात्रा तय गर्दा समय र पैसा दुबै खर्च हुन्छ।

नेप्सेले लगानीकर्ताको सहजताका लागि अनलाइन कारोबार सुरु गरिसकेको छ। पछिल्लो समय अनलाइनमार्फत शेयर कारोबार गर्ने बढिरहेका छन्।नेप्सेका अनुसार दोस्रो बजारमा दैनिक अनलाइनमार्फत शेयर कारोबार गर्ने लगानीकर्ता साढे पाँच हजार छन्। अनलाइनबाटै शेयर कारोबार सुरु भएपछि ब्रोकर कार्यालयमा लगानीकर्ताको भीड केही घटेको छ।

इन्टरनेटको माध्यमबाट जुनसुकै ठाउँमा कारोबार गर्न मिल्ने भएपछि लगानीकर्ताको भिड घटेको हो। प्रविधिले यति धेरै सजिलो बनाएको अवस्थामा दूरदराजका लगानीकर्ताले भने शेयर खरिद बिक्री गर्नकै लागि दिन बिताउनु पर्ने अवस्था हटाउन खोजिएको नेप्सेका अधिकारी बताउँछन्।

केन्द्रीय निक्षेप प्रणालीका अनुसार गत आर्थिक वर्ष सम्म देशभरिबाट  १३ लाख २६ हजार ३७३ लगानीकर्ताले हितग्राही खाता खोलेका थिए।प्राथमिक बजारमा निष्कासित शेयरमा आवेदन दिनकै लागि कर्णाली प्रदेशमा १३ हजार ३ सय ३१ वटा डिम्याट खाता खुलेको थियो। यो मध्ये १० हजार ४ सय ४४ पुरुष र दुई हजार ८८७ महिला छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री