मार्तडी । यहाँस्थित उत्तरी भेगमा पर्ने हिमाली गाउँपालिकामा केही दिन यता फैलिएको अज्ञात रोगका कारण दुई महिलाको मृत्यु भएको छ ।
हिमाली गाउँपालिका–५ क्युडीकी ४० वर्षीया सञ्चकला बुढाको मृत्यु भएको रुगिन स्वास्थ्यचौकीमा कार्यरत अनमी प्रेमकला मल्लले जानकारी दिइन् । उनका अनुसार सोही गाउँपालिका–५ नदापाटाकी ५० वर्षीया हैकला भण्डारीको पनि सोमबार मृत्यु भएको छ ।
क्युडीमा सामान्य रुघाखोकी, ज्वरोको प्रकोप फैलिएको स्थानीय छप्कीबहादुर बुढथापाले जानकारी दिए । उनका अनुसार गाउँमा ज्वरोका कारण नदापाटा र क्युडीका अधिकांश स्थानीय बिरामी परेका छन् ।
बिरामी भएका अधिकांशलाई सामान्य टाउको दुख्ने ज्वरो आउने बिरामी थला पर्ने र नाक, मुखबाट रगत आउनेजस्ता लक्षण देखापरेको बुढथापाको भनाई छ ।
मृत्यु भएको खबर पाएपछि रुगिन स्वास्थ्य चौकी प्रमुख धनबहादुर फडेराको नेतृत्वमा आजै क्युडितिर स्वास्थ्यकर्मीको टोली गएको अनमी मल्लले बताए । जिल्ला सदरमुकाम मार्तडीबाट करीब ४० कोष पैदल दूरी पर्ने रुगिन स्वास्थ्य चौकीमा बिरामीको घुइँचो छ ।
स्वास्थ्य चौकीमा उपचार गर्दागर्दै दुई महिलाको मृत्यु भएको स्वास्थ्यकर्मीले बताएका छन् । केही सातायता हिमाली गाउँपालिकाको छिमेकी जिल्ला हुम्लाको ताजाकोट गाउँपलिकामा महामारीका कारण आठ जनाको मृत्यु भएको थियो ।




