काठमाडौँ । वीरगञ्ज–पथलैया व्यापारिक मार्ग विस्तार आयोजना थपिएको समयमा पनि निर्माण सम्पन्न नहुने देखिएको। स्थानीय बासिन्दाको अवरोध, निर्माण कम्पनीहरूको ढिलासुस्ती र भुक्तानीमा ढिलाइका कारण आयोजना पछाडि धकेलिएको हो ।
२०७५ असारमै काम पूरा हुनुपर्नेमा नसकिएपछि १ वर्ष थपिएको थियो । तर, थपिएको अवधि अढाइ महीना बाँकी रहँदा ६० प्रतिशत मात्र काम पूरा भएको व्यापारिक मार्ग सडक विस्तार आयोजनाको कार्यालय पथलैयाले बताएको छ । आगामी असारभित्र बाँकी काम पूरा हुन नसक्ने दाबी आयोजनाका अधिकारीहरूको छ ।
२०७३ साउनदेखि बेग्लाबेग्लै ६ खण्डमा शुरू भएको सडक विस्तार योजनाको दुईपटक म्याद थपिइसकेको छ । विस्तारमा अनेक अवरोध आएको आयोजनाका इन्जिनीयर अशोक यादवले बताए । उनका अनुसार ५० मिटर सडकको दायरामा थुप्रै अवरोध छन् । स्थानीय बासिन्दादेखि उद्योग कलकारखानाको अवरोधले योजनालाई अपेक्षित गतिमा अगाडि बढाउन सकिएको छैन ।
निर्माण कम्पनीहरूको ढिलासुस्ती पनि विलम्बको कारण बनेको आयोजनाले बताएको छ । आयोजना ६ भागमा विभाजन गरी चारओटा निर्माण कम्पनीलाई जिम्मा दिइएको छ । मुख्य नाका वीरगञ्जसँग जोड्ने त्रिभुवन राजपथ अन्तर्गत भइरहेको विस्तारले सवारी आवागमन सहज हुने अपेक्षा गरिएको छ । यसबाट औद्योगिक र व्यापारिक प्रतिष्ठानका कच्चा पदार्थ र तयारी वस्तु ओसारपसारमा सजिलो हुनेछ । तर, विस्तारमा भइरहेको ढिलाइले आवगमनमा समस्या थपिएको छ ।
वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले देशकै ठूलो नाकामा रहनुका कारण सबैभन्दा बढी पारवहन र यातायातका साधन सञ्चालन हुने यो सडकको निर्माण चाँडै सकिने अपेक्षा रहेको बताए । ‘सडक जतिसक्दो चाँडो सम्पन्न होओस् भन्ने अपेक्षा गरेका छौं तर झन् ढिलाइ हुँदै गएको छ,’ अध्यक्ष केडियाले भने ।
प्रतिकृया दिनुहॊस