काठमाडौं । ‘हिमालयन ट्राभल मार्ट’को तेस्रो संस्करण जुन ६ देखि ९ सम्म काठमाडौंमा हुने भएको छ। मार्ट काठमाडौंको सोल्टी क्राउन प्लाजामा आयोजना हुनेछ।
नेपाललाई हिमालय प्रवेशद्धार तथा साहसिक पर्यटनको केन्द्र एवं सबल पर्यटनमैत्री गन्तव्यको रुपमा विश्वसामु स्थापित गर्ने उद्देश्यका साथ सन २०१७ देखि वार्षिक कार्यक्रमको रुपमा आयोजना गरिँदै आएको हिमालयन ट्राभल मार्ट नेपाललाई अन्तर्राष्ट्रिय रुपमा चिनाउने ब्राण्डको रुपमा विकास हुँदै गएको आयाेजकले दाबी गरेकाे छ।
नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम, पाटा अन्तर्राष्ट्रिय एवं पर्यटन क्षेत्रका विभिन्न संघ–संस्थाहरुको सहयोग, समन्वय तथा सहकार्यमा प्यासिफिक एसिया ट्राभल एशोसियसन (पाटा) नेपाल च्याप्टरले हिमालयन ट्राभल मार्टको आयोजना गर्दै आइरहको छ।
यसअघि सम्पन्न भएका दुई संस्करणहरुको सफल आयोजनाले नेपाली पर्यटन क्षेत्रको प्रचार–प्रसार तथा प्रवर्द्धनमा नयाँ आयाम थपेको पाटा नेपाल च्याप्टरका अध्यक्ष सुनिल शाक्यले बताए।
उनले भने, ‘हिमालयन ट्राभल मार्ट क्रमशः ब्राण्डिङ हुँदै आइरहको छ। जसले नेपाली पर्यटन क्षेत्रकै शीर उच्च पार्नुका साथै विश्व बजारमा नेपालको बलियाे उपस्थिति जनाउन सहयोग पुगेको छ।’




