इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होड लगातार रोमाञ्चक बन्दै आएको छ । उपाधिमा साबिक विजेता म्यानचेस्टर सिटी र लिभरपुलको दाबेदारी उस्तै छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा जित निकाल्दै पेप गार्डिवलाको टिम सिटी पुनः शीर्षस्थानमा उक्लिएको छ ।
घरेलु मैदानमा भएको खेलमा सिटीले टोटनह्यामलाई १–० ले हराएको हो । च्याम्पियन्स लिग फुटबलको अन्तिम ८ मा बेहोरेको हारको बदला सिटीले टोटनह्यामसँग लिएको हो ।
सिटीलाई अवे गोलमा हराउँदै टोटनह्यामले च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान पक्का गरेको थियो । तर प्रिमियर लिग अन्तर्गतको खेलमा भने सिटी विजयी भयो ।
सिटीको जितमा पाँचौँ मिनेटमा फिल फोडिनले गरेको गोल नै निर्णायक बन्यो ।
जितपछि शीर्षस्थानमा पुगेको सिटीको ३४ खेलबाट ८६ अंक भएको छ । दोस्रो स्थानको लिभरपुलको ८५ अंक छ । तेस्रो स्थानको टोटनह्यामको ६७ अंक रहेको छ ।



तपाईंको प्रतिकृया




