पोखराबाट ‘नेपाल भ्रमण वर्ष, २०२०’ शुरु

पोखरा । सन्, २०२० मा २० लाख पर्यटक भित्र्याउने महत्वपूर्ण लक्ष्यको कार्यान्वयन स्वरुप शनिबार ‘नेपाल भ्रमण वर्ष २०२०’ कौ औपचारिक शुभारम्भ गरिएको छ । धेरै मात्रामा पर्यटक भित्र्याउने र आर्थिक समृद्धि हासिल गर्ने सरकारको योजना छ । सोही योजनाअनुरुप संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको आयोजनामा फेवा किनारमा ‘सफ्ट लञ्चिङ’ गरि उद्धाटन गरिएको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विद्युतीय माध्यमबाट उक्त कार्यक्रम लञ्च गरे । उद्धाटनपछि मुख्यमन्त्री गुरुङले यसलाई आर्थिक समृद्धिको रुपमा चित्रण गरे ।

“माओत्सेतुङको हजार माईलको यात्रा पनि पहिलो पाईलाबाटै सुरु हुन्छ, हामीले पनि यात्रा प्रारम्भ गरेका छौँ, प्रदेशको आर्थिक समुन्नतीको यात्रा, हामीले पर्यटनलाई आर्थिक समृद्धिको प्राथमिकतामा राखेका छौँ, यो एउटा महान यात्रा पनि हो,” उनले भने ।
फेवा किनारबाट कार्यक्रमको शुरुवात गरिनुले पोखरालाई पर्यटनको राजधानीको मान्यता दिएको उनले बताए ।

नेपालमा आउने कुल पर्यटकको ४० प्रतिशत पर्यटक पोखरा आउने गरेको बताउँदै उनले भने, “यो पोखराको लागि चुनौती पनि हो, चुनौती यसअर्थमा कि नेपालमा २० लाख पर्यटक आउँदा पोखराले ८ लाख पर्यटक भित्र्याउनुपर्छ, गण्डकी प्रदेशले संघ सरकारको योजना साकार पार्न सक्दो सहयोग गर्नेछ ।

यसबाहेक, प्रदेशको गरिबी निवारण, स्वरोजगार, उत्पादन र उत्पादकत्व बढाउनको लागि पर्यटनले भूमिका खेल्ने बताए ।  “हामीले ५ वर्षभित्र ३० हजारलाई ग्रामीण रोजगार दिने भनेका छौँ, त्यसको लागि प्रदेश सरकारले अहिले २३२ वटा होमस्टे पनि सञ्चालन गरेको छ, होमस्टेलाई हामीले कृषि, बजार र अन्तर्राष्ट्रिय बजारसँग जोडेका छौँ, हामीले आन्तरिक पर्यटन वर्ष पनि घोषणा गरेका छौँ, जसको माध्यमबाट नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पुग्छ,” उनले भने, “२०२० मा छिमेकी भ्रमण वर्ष र सन् २०२२ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न भएसँगै हामी आफैले २० लाख पर्यटक भित्र्याउनेछौँ ।”

प्राकृतिक र सांस्कृतिक रुपमा धनी पोखरालाई स्वर्गजस्तो शहर बनाउन जरुरी भएको उनको भनाई थियो । “जीवनमा एक पटक पोखरा पुग्नै पर्छ भन्ने वातावरण यहाँ बनाउन जरुरी छ,” उनले भने ।

प्रदेशका पर्यटनमन्त्री विकास लम्सालले चिनियाँ, भारतीय लगायतका ठुलो संख्यामा भित्रिने पर्यटकहरुलाई पोखरा ल्याउन सरकारले पर्यटकीय गतिविधीका योजनाहरु ल्याएको बताए । गाउँमा रहेका अति विपन्न, गरिब मानिसहरुलाई रोजगारीदेखि लिएर आर्थिक रुपमा सबल बनाउन यो कार्यक्रम ल्याइएको उनले बताए ।

“होमस्टे भएपछि सानोसानो कुराको पनि व्यापार हुन्छ्, व्यापार हुनु भनेको आर्थिक कारोबार बढ्ने हो, यसको फाईदा त स्थानीय जनतालाई नै हुन्छ”, उनले भने ।

भ्रमण वर्ष २०२० का कार्यक्रम संयोजक सुरज वैद्यले आगामी अक्टोबरसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधार, बुटिक विमानस्थल बनाउन लागिएको, निजगढ, भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलहरुको निर्माण सकिएपछि पर्यटक आवागमनमा सहज हुने बताए ।

भ्रमण वर्ष सफल पार्नकै लागि पोखरामै ‘पर्यटन लगानी सम्मेलन’ समेत गरिने जनाए । पर्यटन सचिव मोहनकृष्ण सापकोटाले यो वर्ष २० लाख, २०२५ मा २५ लाख  पर्यटक भित्र्याउने लक्ष्य रहेको जनाए । पर्यटनको राजस्व दोब्बर बनाउने र रोजगारी सिर्जना गरि युवा पलायन रोक्ने उनको भनाई थियो ।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति पवित्रा निरौला खरेल र सदस्य तथा सांसद दिव्यमणि राजभण्डारीले सबैको सहकार्यमार्फत भ्रमण वर्ष सफल पार्न लाग्नुपर्ने बताए ।  सरकारले चालू आर्थिक वर्ष ०७५–७६ को नीति तथा कार्यक्रमसँगै बजेटमा सन् २०२० लाई भ्रमण वर्षका रूपमा मनाउने र २० लाख विदेशी पर्यटक भित्त्र्याउने उल्लेख गरेको थियो ।

यसअघि सन् १९९८ मा पाँच लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित ‘भिजिट नेपाल १९९८’ र सन् २०११ मा १० लाख विदेशी पर्यटक भित्त्र्याउने लक्ष्य राखेर ‘नेपाल पर्यटन वर्ष’ मनाइएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा (आज) आइतबार सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार प्रतितोला १ लाख …

प्रतिकृया दिनुहॊस