काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा हिजो मुम्बई इन्डियन्स र चेन्नाई सुपर किङ्ग्स विजयी भएका छन् । जारी प्रतियोगितामा तेस्रो जित निकाल्ने क्रममा मुम्बईले सनराइजर्स हैदरावादलाई ४० रनले पराजित गर्यो ।
राजिब गान्धी क्रिकेट रंगशालामा मुम्बईले दिएको १ सय ३७ रनको लक्ष्य पछ्याएको हैदरावादले १७ ओभर ४ बलमा अलआउट हुँदै ९६ रनमात्रै जोड्न सक्यो । हैदरावादलाई सस्तैमा समेट्न मुम्बईका अल्जारी साहीम जोसेफ एक्लैले ६ विकेट लिए ।
कीर्तिमानी प्रदर्शन गरेका डेब्यु खेलाडी जोसेफले ३ ओभर ४ बलमा एक मेडनसहित १२ रन खर्चिएर ६ विकेट लिए । जोसेफको यो बलिङ प्रदर्शन आईपीएल इतिहासकै सर्वाधिक किफायती बलिङ हो ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ७ विकेट गुमाएर १३६ रन बनाएको थियो । मुम्बईका लागि काइरन पोलार्डले अविजित ४६ रन बनाएका थिए । आईपीएल क्रिकेटअन्तर्गत हिजोको पहिलो खेलमा चेन्नाई सुपर किङ्गले किङ्स ईलेभेन पञ्जावलाई २२ रनले हरायो ।
हिजोका खेलपछि आईपीएल क्रिकेटको अंक तालिकामा ५ खेलबाट ८ अंक जोडेको चेन्नाई शीर्ष स्थानमा छ । दोस्रो स्थानको हैदरावादको ६ अंक छ भने एक खेल कम खेलेको कोलकाता ६ अंकसहित तेस्रो स्थानमा छ ।




