काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) ट्वेन्टी–२० क्रिकेटमा नेपाली खेलाडी सन्दीप लामिछाने रहेको टोली दिल्ली क्यापिटल्स पुनः पराजित भएको छ । शुक्रबार राति भएको खेलमा दिल्लीलाई सनराइजर्स हैदरावादले ५ विकेटले हराएको हो ।
फिरोज कोट्ला रंगशालामा घरेलु टोली दिल्लीले दिएको १३० रनको सामान्य लक्ष्य हैदरावादले १८ ओभर ३ बलमा ५ विकेट गुमाएर पूरा गर्यो ।
उसका लागि जोनी बेयरस्टोले आक्रामक ब्याटिङ गर्दै सर्वाधिक ४८ रन बनाए ।
दिल्लीका सन्दीप लामिछानेले एक विकेट लिए । जारी आइपीएल क्रिकेटमा सन्दीपको यो लगातार तेस्रो खेल थियो । उनले हैदरावादविरुद्ध ४ ओभर बलिङ गर्दै ३२ रन खर्चिएर एक विकेट लिएका हुन् ।
हैदरावादविरुद्धको विकेटसँगै सन्दीपले यो सिजनको ३ खेलमा ४ विकेट हात पार्न सफल भएका छन् ।
यसअघि, टस हारेर ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर १२९ रनमात्रै बनाएको थियो ।
दिल्लीका कप्तान श्रेयस एयरले सर्वाधिक ४३ रन जोडेका थिए ।
जितसँगै हैदरावाद चार खेलबाट ६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
दिल्लीको भने समग्रमा यो तेस्रो हार हो । पाँच खेलमा दुई जित निकाल्दै ४ अंक जोडेको दिल्ली पाँचौं स्थानमा छ ।




