नुवाकोट । रसुवामा बाँध र नुवाकोटमा विद्युत् उत्पादनगृह रहेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको संरचना निर्माण पूरा भएसँगै विद्युत् उत्पादनका लागि थालिएको परीक्षण सफल हुँदै गएको छ ।
आगामी वैशाख १७ गतेदेखि विद्युत् उत्पादन थाल्ने लक्ष्य लिएको आयोजनाले यही चैत १ गतेदेखि शुरु गरेको बाँधस्थलको परीक्षण बिहीबार सम्पन्न भएको आयोजना प्रमुख फणिन्द्रराज जोशीले जानकारी दिनुभयो । बाँधस्थलका तीन ढोकाबाट पानी थुनेर डिसेन्टर (पानी जमाउने पोखरी)मा पठाउने कार्य बिहीबार सफल भएको हो ।
विसं २०७२ वैशाख १२ मा गएको विनाशकारी भूकम्पका कारण उक्त आयोजनामा सबैभन्दा बढी क्षति पुगेको बाँधस्थल पुनःमर्मत गरेर सञ्चालनमा ल्याइएको थियो । आयोजनाको बाँधस्थलको परीक्षण सफल भएसँगै तोकिएको समयमा विद्युत् उत्पादन हुने वातावरण निश्चिततातर्फ लम्किएको आयोजनाका उपप्रबन्धक इञ्जिनीयर सत्यराम ज्याख्वाले विश्वास व्यक्त गरे । बाँधस्थलको परीक्षणअन्तर्गत बिहीबार थुनिएको बाँध करीब ४८ घण्टासम्म परीक्षण गरिने आयोजनाको निर्माण गरिरहेको चाइना गेजुवा गु्रप अफ कम्पनी (सिजिजिसी) ले जनाएको छ ।
आयोजनाको सिभिल (भौतिक) संरचना निर्माणपश्चात करीब ४५ दिनको परीक्षण अवधिको यस समयमा दोस्रो चरणअन्तर्गत अर्को सातादेखि डिसेन्टर हँुदै सुरुङमार्गको परीक्षण गर्ने योजना छ । असारसम्ममा निर्माण सम्पन्न गर्ने योजनाको साथ तीव्रगतिमा भइरहेको कार्यअन्तर्गत आयोजनाको समग्र काम हाल ९० प्रतिशत भन्दा बढी पूरा भएको छ ।
आयोजनाको सिभिलतर्फ ९८ प्रतिशत, इलेक्ट्रोमेकानिकलतर्फ ७५ प्रतिशत र हाइड्रोमेकानिकलतर्फ ८८ प्रतिशत एवं प्रसारण लाइन विस्तारको कार्य ९५ प्रतिशत सम्पन्न भइसकेको छ । उक्त आयोजनाबाट ३० मेगावाट बिजुली आगामी वैशाख १७ मा पहिलो युनिटबाट उत्पादन शुरु गर्ने लक्ष्य छ । तीस मेगावाट क्षमताको दोस्रो युनिट आगामी असार १५ गते सञ्चालनमा ल्याउने गरी हाल इलेक्ट्रोमेकानिकलको कामलाई तीव्र बनाइएको छ ।
सन् २०११ जुनदेखि सिजिजिसी कम्पनीले यस आयोजाको निर्माणको काम थालेको थियो । निर्माणका लागि उक्त कम्पनीसँग इञ्जिनीयरिङ, प्रोक्युरमेन्ट एवं कन्स्ट्रक्सन (इपिसी) अवधारणामा सम्झौता भएको थियो । इपिसी मोडलमा निर्माण गरिएको नेपाल विद्युत् प्राधिकरणको यो पहिलो जलविद्युत् आयोजना हो । क्षमता वृद्धि, विभिन्न मागमा स्थानीयवासीको अवरोध र विनाशकारी भूकम्प तथा भारतीय नाकाबन्दीको प्रभावले तोकिएभन्दा चार वर्ष ढिलाइ गरी आयोजना निर्माण अन्तिम चरणमा पु¥याइएको छ ।
यसबाट उत्पादित विद्युत् केन्द्रीय प्रशारण लाइनसम्म जडानका लागि त्रिशूली–काठमाडौँ २२० केभी ‘डलब सर्किट’ प्रसारण लाइन निर्माणको समन्वयन र व्यवस्थापनको जिम्मेवारी थ्री ‘ए’ मार्फत भइरहेको छ । उक्त कार्य हाल ९५ प्रतिशत बढी सम्पन्न भइसकेको छ ।
प्रतिकृया दिनुहॊस