काठमाडाैँ । आजदेखि एक सातासम्म विभिन्न कार्यक्रमका साथ नेपाल राष्ट्रिय जल तथा मौसम सप्ताह मनाइँदैछ । आजदेखि एक सातासम्म विभिन्न कार्यक्रमका साथ नेपाल राष्ट्रिय जल तथा मौसम सप्ताह मनाइँदैछ । जल तथा ऊर्जा आयोगले विश्व पानी दिवस र विश्व मौसम दिवसमा विभिन्न कार्यक्रम गरी साताव्यापी रूपमा कार्यक्रम मनाउन लागेको हो ।
सप्ताह मनाउनका लागि आयोग सचिवालयका सचिव देवेन्द्र कार्कीको नेतृत्वमा २५ भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्था, निजी र प्राज्ञिक क्षेत्रका प्रतिनिधिसहितको आयोग समिति गठन गरिएको छ । ‘कोही पनि नछुटुन्’ भन्ने नारा पानी दिवस तथा ‘मेरो सूर्य, मेरो पृथ्वी र हाम्रो मौसम’ भन्ने नारा मौसम दिवसका लागि तय गरिएको छ ।
सताव्यापी कार्यक्रमअन्तर्गत पहिलो दिन काठमाडौँको माइतीघर मण्डलाबाट जाउलाखेलसम्म जलयात्रा (वाटर वाकाथुन) को आयोजना गरिने कार्यक्रम छ । जाउलाखेलस्थित जलस्रोत तथा सिँचाइ विभागको सभाकक्षमा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले कार्यक्रमको उद्घाटन गर्ने कार्यक्रम राखिएको छ । यसअघि नै माध्यमिक तह विद्यार्थीबीचमा सबैका लागि पानी शीर्षकमा चित्रकला प्रतियोगिता आयोजना गरिसकिएको छ । ४ चैतमा नेपालमा भूमिगत जलस्रोतको दिगो व्यवस्थापनका चुनौती र अवसरबारे १०औं राष्ट्रिय गोष्ठी, चैत ५ मा पत्रकारसँग जलवायु परिवर्तन र जलस्रोतबारे गोष्ठी तथा तीनवटा कलेजका विद्यार्थीबीच वाटर केभको आयोजना गर्न लागेकोे सचिवालयले जनाएको छ ।
७ चैतमा भने स्नात्तक विद्यार्थीलाई लक्षित गरी अनुसन्धान तथा विषयगत क्षेत्रका विज्ञलाई निमन्त्रणा गरी पानी तथा मौसमका बारेमा बौद्धिक गोष्ठी, ८ चैतमा आयोग सचिवालयको तत्वाधानमा कोही पनि नछुटुन् भन्ने नारासहित विषयगत गोष्ठी तथा ९ चैतमा मौसमदिवसको अवसर पारेर मेरो सूर्य, मेरो पृथ्वी र हाम्रो मौसम नारासहित विषय गोष्ठी आयोजना गर्न लागिएको हो ।




