भारतविरुद्धको तेस्रो एक दिवसीय खेल अष्ट्रेलियाले ३२ रनले जित्यो

काठमाडाैँ । भारतविरुद्धको तेस्रो एक दिवसीय खेलमा अष्ट्रेलियाले ३२ रनको जित हात पारेकाे छ ।

जितसँगै अष्ट्रेलियाले श्रृङ्खला २-१ मा पुर्‍यायाे ।राँचीमा हिजाे भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले ५० ओभरमा पाँच विकेट गुमाउँदै ३१३ रन बनायो । पाँच खेलको सिरिजमा पहिलो दुई खेल गुमाएको अष्ट्रेलियाका लागि  एरोन फिन्च र उश्मान ख्वाजाले पहिलो विकेटका लागि नै १९३ रनको बलियो पार्टनरसिप गरेका थिए ।

व्यक्तिगततर्फ ख्वाजाले १०४ रनको शतकीय योगदान दिए । फिन्चले पनि ९३ रन बनाए । यस्तै ग्लेन म्याक्सवेलले ३१ बलमा ४७ रन बनाए भने मार्कस स्टोनिसले २६ बलमा ३१ रन जोडे । यस्तै एलेक्स केरीले १७ बलमा २१ रन बनाए ।

बलिङतर्फ भारतका लागि कुलदीप यादवले तीन विकेट लिँदा मोहम्द शामीले एक विकेट लिए ।

३१४ रनको लक्ष्य पछ्याएको भारत ४८ ओभर २ बलमा २८१ रनमा अलआउट भयो । भारतका लागि कप्तान विराट कोहलीले शतकीय योगदान दिए पनि अन्यको प्रदर्शन खराब रह्यो । काेहलीले ९५ बलमा १६ चाैका र एक छक्काकाे सहयाेगमा १२३ रन बनाएका थिए ।

बलिङतर्फ अष्ट्रेलियाका लागि प्याट कमिन्स, जाए रिचार्डसन र एडम जाम्पाले ३-३ विकेट लिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री