काठमाडौं । सातदोबाटो–रत्नपार्क–नारायणगोपाल चोक जोड्ने विद्युतीय मेट्रो रेलको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न १९ परामर्शदाताले प्रस्ताव गरेका छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको रेल विभागले डीपीआर तयार गर्न माग गरेको आशय पत्रमा १९ परामर्शदाताले प्रस्ताव गरेका हुन्।
आशय पत्र पेश गर्ने सबै परामर्शदाता विदेशी भएको विभागका इन्जिनियर किरण कार्कीले बताए। चीन, जापानलगायत यूरोपियन मुलुकका परामर्शदाताबाट प्रस्ताव परेको उनले जानकारी दिए। विदेशी परामर्शदातासँग केही नेपालीले पनि ज्वाइन्ट भेन्चरमा प्रस्ताव पेश गरेका छन्। सातदोबाटो–नारायणगोपाल चोकसम्म १२ किलोमिटर लामो मेट्रो रेलको डीपीआर तयार गर्ने परामर्शदाता खोज्न माघ १२ गते विश्वव्यापी बोलपत्र आह्वान गरिएको थियो। डीपीआर तयार गर्न इच्छुक परामर्शदातालालई फागुन १३ गतेभित्र प्रस्ताव पेश गर्ने समय दिइएको थियो। बोलपत्रमा प्राविधिक त्रुटि भेटिएकाले विभागले १६ गतेलाई अन्तिम दिन तोकेको थियो।
कार्कीका अनुसार सूचीकृत भएका परामर्शदातामध्ये प्राविधिक रूपमा सवल देखिएकाको आर्थिक प्रस्ताव खोलिने छ। न्युन आर्थिक प्रस्ताव पेश गर्ने परामर्शदाताले डीपीआरको जिम्मा पाउनेछ। यो रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदन तयार भइसकेको विभागका प्रवक्ता अमन चित्रकारले जानकारी दिए।
प्रतिकृया दिनुहॊस