पर्यटन प्रवद्र्धनमा द्रुत गतिमा काम सुरू भइसकेकाले होटल व्यवसायीहरूले गर्दै आएको चिन्ता अब अन्त्य हुने प्रधानमन्त्रीकाे दाबी

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको पर्यटन प्रवद्र्धनमा द्रुत गतिमा काम सुरु भइसकेकाले होटल व्यवसायीहरूले गर्दै आएको चिन्ता अब अन्त्य हुने जानकारी दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज होटल संघ नेपाल (हान) का पदाधिकारीहरूसँग भएको विशेष छलफलमा प्रधानमन्त्री शाहले निजी क्षेत्रलाई राज्यको बलियो साझेदारका रूपमा अघि बढ्न ढाडस दिए ।

व्यवसायीहरूलाई कानुनको पालना गर्दै आफ्नो व्यावसायिक जिम्मेवारी पूरा गर्न, साना तथा मझौला होटलहरूलाई पर्यटन विभागमा दर्ता गरी करको दायरामा ल्याउन र सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा गर्न सकिने सहकार्यबारे अध्ययन गर्न हानका पदाधिकारीहरूलाई प्रधानमन्त्री शाहले आग्रह गरे । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्कराज पौडेलको समेत उपस्थिति रहेको उक्त छलफलमा हानका पदाधिकारीहरूले नेपालको होटल उद्योग वार्षिक ४० लाख पर्यटकलाई सेवा दिन पूर्ण सक्षम रहेको जानकारी गराए ।

हाल वार्षिक १२ लाख मात्र पर्यटक भित्रिरहेको उल्लेख गर्दै व्यवसायीहरूले पर्यटक आगमन बढेसँगै आन्तरिक रोजगारीमा अभूतपूर्व वृद्धि गर्ने र नेपाली युवाहरूलाई वैदेशिक रोजगारमा जानबाट रोक्न होटल उद्योग एक बलियो माध्यम बन्ने बताए । छलफलमा हानका कार्यवाहक अध्यक्ष दिनेश तुलाधर, महासचिव साजन शाक्य, कोषाध्यक्ष युवराज श्रेष्ठ, कार्यसमिति सदस्यद्वय जयदिन श्रेष्ठ र आश्लेषा कार्की तथा हान सचिवालयका प्रमुख टेकबहादुर महतको सहभागिता रहेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री