अब टेलिकमको फोरजी सेवा रारा मुर्माटपमा सुचारु

  • दान बहादुर बुढा

मुगु । नेपाल टेलिकमले फोरजी सेवा मुुगुको रारा तालको पर्यटकीय गन्तब्य मुर्माटपमा सुचारु गरेपछि स्थानीयबासी र पर्यटकहरुलाई राहत मिलेको छ । छायाँनाथ रारा नगरपालिका ९ स्थित पर्यटकीय गन्तब्य रारा मुर्माटपमा नेपाल टेलिकमले फोरजी टावर निर्माण गरि असार १५ देखि बाट तिब्र गतिको फोरजी सेवा बिस्तार हुँदा रारा क्षेत्र लगायत आसपास क्षेत्रमा रहेका स्थानीय नागरिक र पर्यटकहरु सहज रुपमा फोरजी सेवा लिन पाउने भएपछि हर्षित पनि भएका छन् ।

फोरजी टावर निर्माणसंगै इन्टरनेट सेवा सुचारु भएपछि स्थानीय खुशी भएको मुर्मा गाँउका डवल रोकायाले वताए । रारा घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकहरुलाई इन्टरनेट चलाउन सहज भएको पनि उनले बताए ।  करिव सात आठ बर्षदेखि लथालिङ अवस्था रहेको रारा मुर्माटपको फोरजी टावर निर्माण कार्य पुरा गरि फोरजी सेवा सुचारु गरिएको नेपाल टेलिकम मुगुका निमित्त प्रमुख बिमल कुमार बुढाले जानकारी गराए ।

बुढाका अनुसार थार्प टावरबाट रेडियो लिंक मुर्माटप टावरमा जोडेर फोरजी चलाइएको हो । अहिले सिमित सेवा मात्र सुचारु गरिएको छ, पावर ब्याकअप भरपर्दो नबनाउँदासम्म दिगोपनमा चुनौती देखिएको छ । सात आठ बर्ष अघि खरिद गरिएका पुराना ब्याट्रीले पावर धान्न नसक्ने र नयाँ ब्याट्री जडान गरेपछि मात्र सेवा दिगो हुने बुढाले बताए ।  नयाँ ब्याट्री जडानको लागि ठेक्का प्रक्रिया अघि बढिसकेको उनको भनाई छ ।

उक्त फोरजी सेवाले सिंगो मुर्मा गाउँ, रारा क्षेत्र आसपासका बस्तीहरु, होटल, निकुञ्ज कार्यालय र निकुञ्जमा कार्यरत कर्मचारी, सुरक्षाकर्मी र भ्रमणमा आएका पर्यटकहरु इन्टरनेट फोरजी सेवाबाट लाभान्वित हुने नेपाल टेलिकमले जनाएको छ । लामो समयदेखि प्रक्रिया सुरु भएपनि ठेकेदारका लापवाहीका कारण अलपत्र परेको थियो । स्थानीयको दबाब र सामाजिक युवा अभियन्ता अनिल वाँनियाको पहलपछि नेपाल टेलिकमले टावर निर्माण कार्यलाई तिब्रता दिएर सेवा सुचारु गरेको हो ।

असार १५ गतेदेखि फोरजी सेवा सुचारु भएर मोबाइलमा द्रुत गतिको इन्टरनेट चल्न थाले पनि टावरमा पावर ब्याकअपको समस्या देखिने गरेको छ । भौगोलिक विकटताका कारण मुर्माटपमा विद्युतीय केन्द्रीय प्रसारण लाइन नहुँदा टावर पूर्ण रूपमा पावर संचालनमा आउन समस्या हुने देखिएको छ ।  हाल टावरमा जडान गरिएका ब्याट्री ब्याकअपको क्षमता अत्यन्तै कमजोर वा न्यून भएकाले मौसम खरावी हुदा बित्तिकै विद्युत आपूर्तीमा खरावी हुने र नेटवर्कमा समस्या उत्पन्न हुने स्थानीयको भनाइ छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप