काठमाडाैं । लामो समयदेखि सर्बियामा जारी विद्यार्थी नेतृत्वको सरकारविरोधी आन्दोलनको दबाबपछि राष्ट्रपति अलेक्जान्दर आफ्नो कार्यकाल सकिनु अगावै केही साताभित्र पदबाट राजीनामा दिने घोषणा गरेका छन् । भुचिचले राजीनामापछि राष्ट्रपति र संसदीय निर्वाचन गराइने जानकारी दिएका हुन् ।
२०२४ नोभेम्बरमा सर्बियाको नोभी सादस्थित नवनिर्मित रेल स्टेशनको छाना भत्किँदा १६ जनाको मृत्यु भएपछि आन्दोलनको सुरुआत भएको थियो। देशभर फैलिएको विरोध प्रदर्शन र राजनीतिक दबाबको परिणामका रूपमा राजीनामाको घोषणालाई हेरिएको छ । प्रदर्शनकारीहरूले उक्त दुर्घटनाको मुख्य कारण सरकारी भ्रष्टाचार, निर्माणमा भएको अनियमितता तथा प्रशासनकाे लापरबाहीलाई मानेका छन् । जसका कारणले विद्यार्थीहरूले देशभर प्रदर्शन गर्दै सरकारसँग जवाफदेहिता र दोषीमाथि कडा कारबाहीको माग गर्दै आएका छन् ।
आन्दोलन बढ्दै जाँदा शिक्षक, नागरिक समाज, विपक्षी दल तथा सर्वसाधारणसमेत सहभागी भएका थिए । आन्दोलनकारीहरूले भ्रष्टाचार नियन्त्रण, स्वतन्त्र न्यायपालिका, निष्पक्ष निर्वाचन प्रणाली, प्रेस स्वतन्त्रताको सुनिश्चितता तथा लोकतान्त्रिक सुधारको माग राखेका छन् ।
राष्ट्रपति भुचिचले राजीनामाको घोषणा गर्दै आगामी निर्वाचनबाट आफ्नो दल पुनः विजयी हुने विश्वास व्यक्त गरेका छन् । आन्दोलनकारीहरूले उनको घोषणाप्रति शंका व्यक्त गर्दै केवल पद परिवर्तन गरेर सत्ता आफ्नो प्रभावमै राख्ने प्रयास हुन सक्ने धारणा राखेका छन् । त्यसैले उनीहरूले आन्दोलनलाई अझ सशक्त बनाउने चेतावनी दिएका छन् । उनीहरूले राष्ट्रपति भुचिचको राजीनामा मात्र पर्याप्त नभएको भन्दै वास्तविक राजनीतिक सुधार नभएसम्म आन्दोलन जारी रहने बताएका छन् ।



