काठमाडाैँ । चिकित्सा शिक्षा सुधारका लागि व्यापक बहस भइरहेका वेला निजी मेडिकल कलेजहरूले मनपरी शुल्क लिएका छन् । सरकारले उपत्यकामा ३८ लाख ५० हजार र उपत्यकाबाहिर ४२ लाख ४५ हजारसम्म लिएर एमबिबिएस पढाउन सकिने व्यवस्था गरेको छ । तर, मेडिकल कलेजहरूले १४ लाखसम्म बढी शुल्क लिएको भेटिएको छ । यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।
वीरगन्जस्थित नेसनल मेडिकल कलेजले एमबिबिएसका विद्यार्थीसँग सरकारले तोकेभन्दा १४ लाखसम्म बढी शुल्क असुलेको खुलेको छ । गत २६ असोजमा सरकारले एमबिबिएसमा उपत्यकाभित्रका कलेजलाई ३८ लाख ५० हजार र काठमाडौंबाहिरका कलेजलाई ४२ लाख ४५ हजार शुल्क निर्धारण गरे पनि नेसनल मेडिकल कलेजले ५५ लाख ८५ हजार पाँच सय उठाएको भेटिएको हो।
नेसनलले विद्यार्थीबाट चर्को असुल्दै सरकारलाई नियम मानिरहेको देखाउन दोहोरो बिल बनाउने गरेको पनि सूचना चुहिएको छ । विभिन्न सेवा शीर्षक राखेर सरकारले तोकेभन्दा १४ लाख बढी शुल्क असुलेको पीडित विद्यार्थीले नयाँ पत्रिकालाई बताए ।
कलेजले दुईथरी बिल बनाउने गरेको पनि उनीहरूको भनाइ छ । नेसनल मेडिकल कलेज यसअघि पनि बढी शुल्क असुलेका कारण विवादमा तानिएको थियो ।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त मेडिकल कलेजहरूले सरकारी निर्णय उल्लंघन गर्दै भर्ना शुल्कमा मनोमानी गरेको चिकित्साशास्त्र अध्ययन संस्थान ९आइओएमका डिन प्रा.डा. जगदीशप्रसाद अग्रवाल पनि स्विकार्छन् ।
शुल्क तोके पनि सरकारले कार्यान्वयनमा कडाइ नगर्दा मेडिकल कलेजहरूले मनलाग्दी गरिरहेको उनले बताए । ‘मेडिकल कलेजहरूले निर्धारण गरेको शुल्क गैरकानुुनी छ, तर सरकारले आफ्नै निर्णय कार्यान्वयन गरेको छैन,’ अग्रवालले भने ।
सीधै कारबाही गर्न मिल्ने कानुन भएन
रामप्रसाद आचार्य, सिडिओ, काठमाडौं
सरकारले मेडिकल कलेजले तोकेकोभन्दा बढी शुल्क लिएको पाइए कारबाही गर्नू भनेर परिपत्र गरेको छ । तर, कुन नियम–कानुनमा टेकेर कारबाही गर्ने भन्ने यकिन छैन ।
उजुरी आएमा जिल्ला प्रशासन कार्यालय भएको नाताले पनि हामी कानुन खोजेर बस्ने पक्षमा छैनौँ । सरकारी वकिलसँग यस विषयमा छलफल गर्नुपर्ने देखिएको छ । तर, कसैले बढी रकम लिएको छ भन्ने उजुरी गरेमा प्रहरीलाई परिपत्र गरेर भए पनि हामी कारबाही गर्नेछौँ ।
विद्यार्थी र अभिभावक कलेजको डरका कारण पनि खुल्न चाहेको अवस्था छैन । प्रचलित कानुनअनुसार नभएकाले हामीले पनि यो विषयलाई गम्भीरताका साथ भने लिएका छौँ ।




