काठमाडौँ । चिसो अत्यधिक बढेपछि उपत्यकाभित्र निर्माणाधीन सडक कालोपत्रेको काम रोकिएको छ । काम रोकिँदा सबैभन्दा बढी समस्या त्रिपुरेश्वर–कलंकी–नागढुंगा र चाबहिल–जोरपाटी–साँखु सडकमा परेको छ । कलंकी–नागढुंगा खण्डको १२ किमिमध्ये ७ किमि मात्रै कालोपत्रे भएको छ। निर्माण थालेको ३ वर्ष पूरा भइसकेको छ। ठेक्का सम्झौताको समय सकिइसकेको छ। काम भने आधाजसो मात्रै भएको छ।
चार भागमा विभाजन गरेर ठेक्का लगाइएको सडकमा तीनवटा खण्डको ठेक्का शैलुङ कन्स्ट्रक्सनले ज्वाइन्ट भेन्चरमा लिएको थियो। काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले यो आर्थिक वर्षभित्र उक्त खण्डको निर्माण पूरा हुने जनाएको छ।
‘जाडो महिनामा पिच हुँदैन, पिचबाहेकको काम भइरहेको छ,’ आयोजनाका प्रवक्ता एवं इन्जिनियर विश्वविजयलाल श्रेष्ठले भने, ‘दिउँसो गाडी धेरै गुड्छन्। यस्तो अवस्थामा पिच गर्न सकिँदैन। राति काम गर्नुपर्ने हुन्छ। राति चिसोका कारण पिचका लागि तापक्रम मिल्दैन।’
उनका अनुसार पुस १० देखि पिच निर्माणको काम रोकिएको छ। माघमा पनि पिचको काम हुने छैन। ‘पिच गर्नका लागि १५र२० डिग्रीसम्मको तापक्रम चाहिन्छ,’ उनले भने, ‘चिसोमा तापक्रम माइनसमा झर्छ। उनका अनुसार अब फागुनबाट मात्रै पिच सुरु हुनेछ। अहिले पिच गर्दा कालोपत्रेले काम गर्दैन। ‘सडकमा खन्याउन नपाउँदै कालोपत्रे जम्छ,’ उनले भने, ‘यस्तो अवस्थामा पिच गर्दा सडक टिकाउ हुँदैन।’
चाबहिल–जोरपाटी खण्डमा अहिलेसम्म ४–५ सय मिटरभन्दा बढी पिच हुन सकेको छैन। इन्जिनियर श्रेष्ठका अनुसार ‘तोकिएको समयभन्दा ढिलो हुने निश्चित छ।




