काठमाडाै । कामना सेवा विकास बैंक लिमिटेड (KSBBL) ले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म उल्लेख्य वित्तीय सुधार गर्दै खुद नाफा र प्रतिशेयर आम्दानी (EPS) दुवैमा वृद्धि गरेको वताएकाे छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार समीक्षा अवधिमा ५८ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको ४९ करोड ३१ लाख रुपैयाँको तुलनामा १९.३७ प्रतिशतले बढी हो।
बैंकको नाफा वृद्धिमा खुद ब्याज आम्दानीमा भएको सुधार मुख्य कारक बनेको छ। समीक्षा अवधिमा खुद ब्याज आम्दानी ९.२६ प्रतिशतले बढेर १ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष सोही अवधिमा १ अर्ब ६६ करोड रुपैयाँ थियो। साथै, कर्जा नोक्सानी व्यवस्था (इम्पेयरमेन्ट चार्ज) ९.७५ प्रतिशतले घटेर २८ करोड ६२ लाख रुपैयाँमा झरेको छ, जसले नाफामा थप टेवा पुर्याएको छ। बैंकको चुक्ता पूँजी ४ अर्ब २१ करोड रुपैयाँ पुगेको छ, जसमा ९ प्रतिशत दरका ३५ करोड रुपैयाँ बराबरका गैर–संचित अपरिवर्तनीय अग्राधिकार सेयर समावेश छन्।
यी अग्राधिकार सेयर बाहेक बैंकको मुख्य इक्विटी पूँजी ३ अर्ब ८६ करोड रुपैयाँ रहेको छ। समीक्षा अवधिमा बैंकका प्रमुख वित्तीय सूचकहरूमा पनि सुधार देखिएको छ। वार्षिकीकृत प्रतिशेयर आम्दानी (EPS) १९ रुपैयाँ २४ पैसा पुगेको छ। बैंकको मूल्य–आम्दानी अनुपात (P/E Ratio) हाल १९.२४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६३ रुपैयाँ ५७ पैसा कायम भएको छ। समग्रमा, खुद ब्याज आम्दानीमा भएको वृद्धि र कर्जा नोक्सानी खर्चमा आएको कमीले बैंकको वित्तीय अवस्था मजबुत बन्दै गएको देखिन्छ, जसले आगामी दिनमा पनि स्थिर वृद्धि कायम रहने देखिएको छ।




