दक्षिणकाली इनोभेसन सेन्टर स्थापना: आईटी क्षेत्रमा युवालाई सशक्त बनाउने उद्देश्य

काठमाडौं । बेलायतमा मुख्यालय रहेको सूचना प्रविधिसम्बन्धी परामर्शदाता कम्पनी जेनेस सलुशनसँगको सहकार्यमा दक्षिणकाली नगरपालिकाले दक्षिणकाली इनोभेसन सेन्टरु स्थापना गरेको छ । स्थानीय युवाहरूलाई क्लाउड र प्रविधि क्षेत्रमा प्रशिक्षित गर्दै सशक्त बनाउने उद्देश्यसहित यो याेजना अघि बढाइएको हो ।

दक्षिणकाली नगरपालिकाका नगरप्रमुख मोहन बस्नेतले गत शुक्रबार आयोजित एक समारोहमा सेन्टरको उद्घाटन गर्दैअहिलेको युग सूचना र प्रविधिको युग हो भन्दै स्थानीय युवालाई आईटी सीप प्रदान गरी रोजगार योग्य बनाउन दक्षिणकाली नवप्रवर्तन केन्द्र स्थापना गरिएको बताए । उनले केन्द्रको स्थापना तथा युवाहरूलाई तालिम प्रदान गर्न जेनेस सलुशनले पुर्याएको सहयोगको प्रशंसा पनि गरे । ‘यस्ता तालिमहरूले हाम्रा युवालाई भविष्यका लागि तयार कार्य शक्ति मात्र बनाउँदैनन्, राष्ट्र निर्माणमा समेत टेवा पुर्याउँछन्,’ मेयर बस्नेतले भने ।

यस पहल अन्तर्गत जेनेस सलुशन र दक्षिणकाली नवप्रवर्तन केन्द्रले ५० जना स्थानीय युवालाई क्लाउड र प्रविधि विषयक तालिम प्रदान गर्न लागेका छन् । केन्द्रले उद्योगमैत्री तालिम, इन्टर्नसिप अवसर तथा रोजगारी व्यवस्थापन सहयोगमार्फत युवालाई सम्भावनाबाट पेसागत यात्रातर्फ रूपान्तरण गर्न सघाउने लक्ष्य राखेको छ । कार्यक्रममा उप नगरप्रमुख शिवमाया डङ्गोल, जेनेस सलुशनका कार्यकारी निर्देशक तथा नेपाल प्रहरीका पूर्व एआईजीपी भीम प्रसाद ढकाल, जेनेस सलुशनका उपाध्यक्ष (प्रि–सेल्स) अमित जोशी तथा तालिम विभाग प्रमुख दीपक राज सिलवालको पनि उपस्थिति रहेको थियो ।

जेनेस सलुशनले यसअघि भोजपुर जिल्लास्थित अरुण गाउँपालिका, काठमाडौंस्थित कागेश्वरी मनोहरा नगरपालिका तथा सुर्खेत जिल्लास्थित वीरेन्द्र नगर एवं भेरीगङ्गा नगरपालिकामा पनि यस्तै तालिम, इन्टर्नसिप र रोजगार व्यवस्थापन कार्यक्रम सफलतापूर्वक सञ्चालन गरिसकेको छ । ती कार्यक्रमहरूले स्थानीय युवालाई प्रशिक्षित गरी रोजगारी सिर्जना र डिजिटल सीप विकासमा महत्त्वपूर्ण योगदान पुर्याएका छन् । नगरपालिका स्तरमै युवा जनशक्तिलाई सीपयुक्त बनाइ दिगो करियर इकोसिस्टम निर्माण गर्ने उद्देश्यले यो पहल गरिएको जेनेस सलुशनले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री