विश्वमा ट्रम्प प्रभावः अधिनायकबादी कदम

-कल्पना शर्मा
अहिले विश्व राजनीति गर्माएको छ । परिकल्पना बाहिरका घटनाक्रमहरु देखिएका छन् । विश्व नेता डोनाल्ड ट्रम्पको पछिल्ला भूमिकामाथि प्रश्न उठाउनेहरु धेरै छन् । उनले चालेका पछिल्ला कदम निरन्तर रूपमा स्वेच्छाचारी र तानाशाही प्रकृतिका देखिएको प्रष्ट छ । उनको हर्कतले संयुक्त राज्य अमेरिकाले गर्व गर्ने लोकतान्त्रिक मान्यतामाथी नै गम्भीर प्रश्न तेर्सिरहेका छन् ।
ट्रम्प पथ एउटा अधिनायकबादी सोच हो । यस्तो सोचले अमेरिकामात्र होइन की विश्वभरका नेताले लोकतन्त्रका नाममा अलोकतान्त्रिक निर्णय लिनसक्ने जोखिम धेरै देखिन्छ । पुटिनले युक्रेनमाथि आक्रमण गरे । युक्रेन ध्वस्त भयो । पुटिनलाई एक शक्तिशाली देशको गैरजिम्मेवार नेताका रुपमा विश्वले हेरिरहेको छ । सिरियालगायतका मुलुकमा द्वन्द्व चर्किरहेको छ । शान्ति स्थापना गर्ने नाम दिएर ट्रम्पले अत्याचार गरिरहेका छन्, उनको आक्रमणको शैलीलाई हेर्दा विश्व नै शान्तितर्फ होइन, युद्धतर्फ जाकिँदै गएको भन्न मिल्छ ।

आतंकवाद र लागु औषधसम्बन्धी अपराधका अभियोगमा मादुरोलाई प्रस्तुत गर्दै पुस १९मा राष्ट्रपति डोनाल्ड ट्रम्प विश्वव्यापी सञ्चारमाध्यमहरूमा एकाएक छरपष्ट भए । अमेरिकी सेनाले भेनेजुएलामाथि आक्रमण गरेर त्यहाँका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई नियन्त्रणमा लिएको हाकाहाकी बोले । उनीहरूलाई आतंकवाद र लागुऔषधसम्बन्धी अपराधका अभियोगमा न्युयोर्कमा अभियोग लगाइएको भन्ने खबर विश्वभरी फैलियो । एउटा देशका राष्ट्र प्रमुखलाई चिलले कुखुराको चल्लो टिपे जसरी टिपेर लैजान मिल्छ ? यो कुन अन्तराष्ट्रिय कानूनले दिन्छ ? अर्काको देशको प्रमुखलाई त्यसरी लानु के कानून सम्मत हो ?

रातारात अमेरिका लगिएपछि ट्रम्पले मादुरोलाई ‘नार्को–आतंकवादी संगठन’ सञ्चालन गरेको आरोप लगाएका छन् । होला, उनी आतंकवादी संगठनका नाइकेनै थिए रे । तरपनि ट्रम्पको शैली कुनै गुण्डागर्दीको भन्दा कम थियो ? आफ्नो सैन्यशक्ति परिचालन गरेर राष्ट्रपतिजस्तो गरिमामय पदमा पदासिन ट्रम्पले मादुरो र उनकी पत्नीलाई उनकै देशबाट अपहरण नै गरे । ठुलाले जे गरेपनि हुने हो ? शक्ति भए ठुला देशले सानालाई यसरी हेप्न पाइन्छ ? यस्तो शैलीको निन्दा अन्तर्राष्ट्रिय स्तरमा भइरहेको छ । कुनै देशमा त्यहाँका आम नागरिकले छानेका नेतालाई उनकै देशबाटै अपहरण गर्ने अधिकार ट्रम्पले कसरी पाए ? उनको शैलीका विषयमा अन्तर्राष्ट्रिय कानुनले के भन्छ ?

आतंकवादविरुद्ध कदम चाल्नु ठीक हो । तर यस्तो तरिका सही हो ? भेनेजुएला बेग्लै राष्ट्र हो । उसका पनि आफ्नै ऐन कानूनहरु छन् । विश्वभरले यसको कडा बिरोध गरिरहेको छ ।
ट्रम्पले दोस्रो कार्यकाल जित्ने मुख्य रणनीति भनेकै विश्वव्यापी द्वन्द्व अन्त्य गर्नु थियो । उनले शान्ति स्थापना गर्ने बाचा नागरिकसामु गरेका थिए । आफूलाई नोबेल शान्ति पुरस्कारको हकदार ‘शान्तिका राष्ट्रपति’ का रूपमा समेत दाबी गर्दै आएका थिए । उनले अहिलेसम्म विश्वका केही देशमा युद्ध अन्त्य गरेको दाबी गरेका भएपनि उनको क्रियाकलाप नियाल्दा दोस्रो कार्यकालमा अहिलेसम्म सात देशमाथि आक्रमण गरिसकेका छन् ।

विश्वकै शक्तिशाली राष्ट्रका प्रमुखले मादुरो र उनकी पत्नीलाई अपहरण शैलीमा नियन्त्रणमा लिए । यसलाई भेनेजुएलामाथिको आक्रमण शक्तिको प्रदर्शनका रुपमा धेरैले हेरेका छन् । ट्रम्पको दोस्रो कार्यकालमा विश्वभर सैन्य आक्रमण बढ्दै छ । यस्ता हर्कतले ‘शान्तिका राष्ट्रपति’ भन्नु ट्रम्पलाई कति उचित हो भन्ने प्रश्न तेस्र्याएको छ । ट्रम्प दोस्रोपटक सत्तामा आएदेखि नाइजेरिया, सोमालिया, इरान, सिरियालगायत देशले अमेरिकी आक्रमणको सामना गर्न बाध्य छन् । फेरी उनले क्युबा, कोलम्बिया लगायतका देशमाथि आक्रमण गर्ने धम्की दिइरहेका छन् । अर्काको देशको राष्ट्रपतिलाई जबर्जस्ती हटाउने ट्रम्पको पछिल्लो हर्कतप्रति अन्तर्राष्ट्रिय समुदायमा विभिन्न प्रश्नहरू उठिरहेका छन् । विश्व शान्ति पुनः स्थापना गर्नुपर्ने ठुलो राष्ट्रका प्रमुखको यो कदमले अहिले विश्व हल्लिएको छ । आफ्ना नियम मान्नैपर्ने बाध्यकारी अमेरिकाको हैकम लोकतन्त्र बिरोधी छ भन्दा फरक पर्दैन ।

ट्रम्पको प्रशासनले लागू गरेका भन्सार शुल्क वृद्धिले विश्व व्यापार र आवागमनमा संकट निम्त्याएको छ । यस्तो परिस्थितिले विश्वलाई द्वन्द्व र अस्थिरतातर्फ धकेलिरहेको प्रष्ट छ । उनले विश्वभर डर र भयको वातावरण सिर्जना गर्न सफल भएका छन् । अमेरिका पृथ्वीको सबैभन्दा शक्तिशाली राष्ट्र हो । तर शक्ति छ भन्दैमा अन्य कमजोर राष्ट्रलाई धम्क्याउने र अनावश्यक शक्ति प्रदर्शन गर्नु लोकतन्त्रमा उचित हो ? ट्रम्प आफू सर्व शक्तिमान भएकोे स्थापित गर्न खोजिरहेका छन् । अमेरिकीसहित विश्वभरका नागरिकहरूले डोनाल्ड ट्रम्पजस्ता शक्ति हातमा लिने र अधिनायकबादी शासकहरु विरुद्ध आवाज उठाउने समय भएको छ । आफू अनूकुल मन नपरेका देशमाथि शक्तिशाली सेनाको प्रयोग गरेर आक्रमण गर्छन् । विश्वभरलाई मानव अधिकारको पाठ पढाउने अमेरिकाले अन्तर्राष्ट्रिय कानुन र मानव अधिकार घोषणाको मर्म अनुसारका काम गरेको छ ?अब विश्वका नागरिक एकजुट भई ‘ट्रम्पवाद’ वा ‘ट्रम्पपथ’ अन्त्य भएको आवाज उठाउन ढीला भइसकेको छ । -नवीन सन्देशबाट

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री