स्मरण शक्ति बढाउने उपायहरु

गंगा बस्नेत
आजको आधुनिक युगमा प्रविधिको तीव्र विकाससँगै अहिलेको पुस्ताको जीवनशैलीमा धेरै परिवर्तन आएको छ । मोबाइल फोन, इन्टरनेट, सामाजिक सञ्जाल र डिजिटल उपकरणहरुको अत्यधिक प्रयोगले मानिसको दैनिक जीवन सहज बनेको छ तर यसले स्मरण शक्ति र एकाग्रतामा नकारात्मक असर पनि पारिरहेको छ । अहिलेको पुस्ता साना–साना कुरा सम्झन सक्दैन । मोबाइल र इन्टरनेटमा निर्भर हुन थालेको छ । फोन नम्बर, मिति, जानकारी सबै डिजिटल उपकरणमा सुरक्षित राख्ने बानीले दिमागको आफै सोच्ने र सम्झने शक्ति कम हुँदै गएको छ । सामाजिक सञ्जाल, भिडियो र गेमहरुको अत्यधिक प्रयोगले ध्यान एक ठाउँमा केन्द्रित गर्न गाह्रो बनाएको छ । योसँगै अनियमित खानपान, जंक फुडको बढी प्रयोग, राति ढिलो सुत्ने र बिहान ढिलो उठ्ने बानी बढ्दो छ । यसले मस्तिष्कको स्वास्थ्यमा प्रतिकूल असर पारिरहेको छ । स्मरण शक्तिमा पनि प्रत्यक्ष असर पार्छ । पढाइ, करियर, समाजसँग तुलना र भविष्यको चिन्ताका कारण अहिलेको पुस्ता बढी तनावमा देखिन्छ । अत्यधिक तनावले दिमाग थकित बनाउँछ र स्मरण शक्ति घटाउँछ ।

नयाँ पुस्ताले प्रविधिको सही प्रयोग गर्न सिक्नुपर्छ । योसँगै नियमित व्यायाम, ध्यान, स्वस्थ आहार, पर्याप्त निद्रा र किताब पढ्ने बानीले स्मरण शक्ति सुधार गर्न सकिन्छ । यो पुस्तामा क्षमता र प्रतिभा प्रशस्त छ तर गलत जीवनशैलीका कारण स्मरण शक्ति प्रभावित हुँदै गएको छ । यदि समयमै सचेत भई स्वस्थ बानी ब्यवहार अपनाउने हो भने यो पुस्ताले अझ उत्कुष्ट मानसिक क्षमता विकास गर्न सक्छ ।

हामीले आफ्नो स्मरणशक्तिलाई कसरी बढाउन सकिन्छ ? यहाँ केही टिप्सहरु प्रस्तुत गरिएको छ ।
– पढ्नका लागि शान्त वातावरण खोज्ने,
– निद्रासँग सम्झौता नगर्ने,
– जटिल सामग्रीहरूलाई याद गर्नुभन्दा पहिला बुझ्ने प्रयास गर्ने,
– बिहानै कम्तीमा १० मिनेट ध्यान र प्राणायामका लागि समय निकाल्ने,
– विचार र सूचनाहरूलाई ‘माइन्ड म्यापिङ’ बाट कल्पना गर्ने,
—स्मरण शक्ति बढाउन नियमित शारीरिक व्यायाम गर्ने,
—प्रबिधिको प्रयोग अध्ययन र सिकाइका लागि गर्ने, यसमा धेरै समय नबिताउने ।

स्मरण शक्ति बढाउन मानसिक र शारीरिकरुपमा स्वस्थ हुनैपर्छ । स्मरण शक्ति राम्रो होस् भन्ने चाहना सबैको हुन्छ । उमेर बढ्दै जाँदा बिर्सँदै जाने समस्या पनि बढ्दै जान्छ । स्मरण शक्ति बढाउने विशेष औषधि भने हालसम्म बनेको छैन । यो बढाउन खानपानको प्रमुख भूमिका हुन्छ । स्वस्थ शरीर भयो भने दिमाग पनि स्वस्थ हुन्छ । स्वस्थ दिमाग भयो भने स्मरण शक्ति तेज हुन्छ । यसका लागि डिजिटल प्रबिधि प्रयोगको समय कम गर्नुपर्छ । अत्यधिक समय डिजिटललाई दिने हो भने दिमागमा नकरात्मक असर पर्छ । नकारात्मक असर परेसँगै स्मरण शक्ति पनि घट्दै जान्छ । त्यसकारण शारीरिक व्यायाम, योग, ध्यान र स्वस्थ खानपानमा विशेष ध्यान दिनुपर्छ । प्रबिधिको कम प्रयोग गर्नुपर्छ ।-नवीन सन्देशबाट

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री