विशेष महाधिवेशनबाट ८८५ महाधिवेशन प्रतिनिधि बाहिरिए : पूर्णबहादुर खड्का

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनमा सहभागी भएका भनिएका ८ सय ८५ हस्ताक्षरकर्ताहरूले विशेष महाधिवेशनबाट बाहिरिएको जानकारीसहितको हस्ताक्षर पार्टी कार्यालयमा बुझाएको बताएका छन् । आज  बिहान निर्वाचन आयोगमा आधिकारिकता दाबी गर्न पुगेका कार्यवाहक सभापति खड्काले यस्तो बताएका हुन् ।

खड्काले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरसहित विशेष महाधिवेशन गरेको भनिएको भएपनि ८ सय ८५ हस्ताक्षरकर्ताहरूले हस्ताक्षर फिर्ता लिएको बताए । खड्काले, ‘हस्ताक्षरकर्ता, सहभागीकर्ता भन्ने खालको कुरा आएको छ । ती हस्ताक्षरकर्ता सहभागीमध्ये ८ सय ८५ जना त्यसबाट अलग रहेको, फिर्ता लिएको आफ्नो हस्ताक्षरसहित मुख्यसचिवले केन्द्रीय कार्यालयमा कार्यवाहक सभापतिलाई सम्बोधन गरेर पठाउनुभएको छ ।’ जानकारी गराए ।

विशेष महाधिवेशन भेलाभन्दा पहिला र पछिको हस्ताक्षर आफूहरूसँग रहेको उनले दावी समेत गरे । गगन थापा नेतृत्वको नेपाली कांग्रेसले विशेष महाधिवेशनबाट केन्द्रीय कार्यसमिति चयन गरिसकेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा यो विवादले कांग्रेसको चुनावी तयारीमा असर पर्नसक्ने विश्लेषकहरूले बताउँदै आएका छन् । आयोगको निर्णय कुर्नुपर्ने अवस्था आएमा यो मुद्दा सर्वोच्च अदालतसम्म पुग्नसक्ने सम्भावना रहेकाे छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री