मेयरदेखि मूलधारको राजनीतिसम्म चल्तीका बालेन

कल्पना शर्मा
नेपाली राजनीतिमा समयको कालखण्डमा विभिन्न परिवर्तनहरु देखा पर्छन् । पात्रहरु पनि नयाँ खाले उदाउँछन् । अचानक उदाएका ती पात्रहरुका राजनीतिक संस्कार, एजेण्डा, दृष्टिकोण कस्ता प्रकारका हुन्छन् त ? उनीहरु सस्तो लोकप्रियतामा रमाउनकै लागि राजनीतिमा प्रवेश गरेका हुन्छन् त ? या अरु कुनै लुप्त अभिष्ट पूरा गर्नका लागि राजनीतिको दौडमा लागेका हुन्छन् ? यस्ता प्रश्नहरु अहिलेको पुस्ताले खोजिरहेको छ । बालेन साह अब एउटा नाम मात्र होइन, ब्राण्ड नै बनिसकेको छ । देशकै राजधानी काठमाडौंमा बालेन साहले भारी मतले मेयरको चुनाव जिते । उनको उदय नै भिन्न खाले थियो । वर्षौंदेखि दलहरुले आम नागरिकलाई गरेको बेवास्ता, राजनीतिका नाममा तीनै नागरिकलाई दिएको दुःख र नैराश्यताले पराकाष्ठा नै नाघिसकेको थियो । दलहरुप्रति नागरिक अति नै रुष्ट देखिन्थे । उनीहरुले परिवर्तन चाहेका थिए । वर्षौेंदेखि ठूला दल मानिएकाहरुलाई एकाएक चुनावमा पराजित गर्नु दलबिनाको पात्रका लागि धेरै चूनौतीपूर्ण थियो ।
६२ हजार मत पाएका बालेन काठमाडौंका मेयर मात्र होइन, राष्ट्रिय/अन्तराष्ट्रिय चर्चाका पात्र पनि बन्न पुगे । नेतृत्वमा टिकिरहन सहज छैन । समाजको असन्तुष्ट पक्षलाई बुझ्नुपर्छ । ठुला पार्टी र तिनका नेतालाई भोट दिँदै र जिताउँदै आएका काठमाडौंबासी वास्तवमा वाक्क दिक्क भइसकेका थिए । नेताहरुका कहिल्यै पूरा नहुने बाचा र चुनावी एजेण्डाबाट विरक्त भएका नागरिक परिवर्तनको खोजीमा थिए । समाजको खोजको सही पात्र बन्ने सौभाग्य प्राप्त गरे उनै बालेन साहले ।
भर्खरै रास्वपाका सभापति रवी लामिछाने र बालेन शाहबीच सहमति भयो । उनीहरुबिचको एकताले नेपाली राजनीतिमा हलचल नै मच्चाइदिएको छ । जनसंवाद, अर्न्तक्रिया गर्न नरुचाउने उनको स्वभावको पछिल्लो समय तीब्र बिरोध भइरहेको छ । बेला बेलामा नचाहिँदा फेसबुक स्टाटस लेख्ने पात्रका रुपमा चर्चित बालेनको रास्वपा प्रवेश र प्रधानमन्त्री बन्ने प्रकारको सहमतिले पुराना दलहरुलाई डर र त्रास पैदा गरिदिएको छ । लेखक तथा विश्लेषक शौरभले एक चर्चित टेलिभिजन कार्यक्रम मार्फत उनलाई लुसिफरको ट्याग नै भिराइदिए । साहलाई कालो चश्मा र पोशाकले खराब शक्तिको संकेत गरेको आरोप समेत लगाउन भ्याए । हाम्रो जस्तो गणतान्त्रिक मुलुकमा शासन गरेका व्यक्ति निरन्तर नागरिकको पहुँचमा हुनुपर्छ । मेयरको दौडमा रहँदा नागरिकसँग नजिक रहेका उनी मेयर बनेपछि आमनागरिकको पहुँचभन्दा टाढा पुगेका छन् ।

बालेनले र्याप संगीतबाट चर्चा कमाए । इन्जिनियरिङ अध्ययन गरेका उनी काठमाडौंको भौगोलिक अवस्थासँग राम्रो जानकार भएको सुनिए । उपत्यकालाई सम्पन्न बनाउने सपना बाँडे । उनी जसरी प्रस्तुत हुन्थे । आम नागरिकले विश्वास गर्दै गए । विश्वासलाई क्यास गर्दै उनी डिजिटल्ली आफ्ना धारणाहरु पस्कन थाले । आफूलाई चित्त नबुझेको कुरा राख्न उनी कत्तिपनि हिचकिचाउँदैनथे । बेला/बेला उनका ननभेज स्टाटसले आलोचित पनि बन्नु परेको अवस्था छ । चर्चित मेयरको परिचय बनाएसँगै भदौ २३/२४ उनको लागि अर्को चर्चाको केन्द्र बन्न पुग्यो । आन्दोलनमा जेनजीले प्रधानमन्त्रीका रुपमा चाहेका उनी सम्पर्कमा आएनन् । बरु आफैले चाहेका शुसीला कार्कीलाई प्रधानमन्त्री र ओमप्रकाश अर्याललाई गृहमन्त्री बनाउने गेम मेकरको भुमिका खेले । फेसबूकमा उनी जसरी प्रस्तुत हुन्थे सोही अनुरुप परिस्थिति बन्दै गयो । संसद् पनि भंग भयो । उनले काठमाडौंको मेयर हुँदा देखाएको पार्किङ ब्यवस्थापन, फोहोर ब्यवस्थापन, डिजिटल सेवा, स्वास्थ्य सेवा, अनधिकृत संरचना भत्काउने, शिक्षामा आर्थिक अवस्था कमजोर भएका बालवालिकालाई छात्रवृत्ति जस्ता कार्यहरुले प्रशंसा बटुलेको थियो । यी मध्ये टुकुचाको उत्खनन र सुकुम्बासी बस्तीको उनको कदमलाई धेरैले बिरोध पनि गरे ।
नेपाली राजनीति एकदमै जटिल मोडमा उभिएको छ । डिजिटल दुनियाँले लोकप्रिय बनेका बालेनबाट आम नागरिकलाई आशा नभएको होइन । वैकल्पिक शक्तिका रुपमा हेरिएका उनको अचम्मको फ्यान फलोइङ छ । राष्ट्रिय राजनीतिमा उनको प्रवेशले धेरै प्रश्नहरु जन्माएको छ । उनी लोकप्रियताको कसीमा रहन्छन् वा जनअपेक्षालाई पूरा गर्ने रणनीतिक योजनाहरु पस्किन्छन् त ? त्यो हेर्न भने बाँकी नै छ । नेपाली समाजले परिवर्तन चाहेको छ । ठुला राजनीतिक दलहरुका बाचा र बन्धनबाट त्रसित आम नागरिक फेरी तर्सिने अवस्थाको सिर्जना नहोस् । राजनीतिमा बालेनको अनुहार हेर्न होइन परिवर्तन होस् भन्ने चाहना सबैको छ । अब चिल्ला र मीठा कुरा होइन की परिवर्तनको संखघोष गर्ने बेला आइसकेको छ । अबको रुझान र उभार बालेन पक्कै होलान् तर यो दीर्घकालीन हुन्छ की हुँदैन ? मुख्य प्रश्न यही हो । -नवीन सन्देशबाट

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री