काठमाडाैं । होटल गरिमा लिमिटेडले सर्वसाधारणका लागि जारी गर्न लागेको साधारण सेयर (IPO) को निष्कासन तथा बिक्री प्रबन्धक मा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड लाई नियुक्त गरेको छ।
पूर्वी नेपालको प्रतिष्ठित आतिथ्य सत्कार उद्योगमा समर्पित, कोशी प्रदेशको इटहरीमा अवस्थित पाँचतारे स्तरको सोलेटी वेस्टएन्ड इटहरी होटल को स्वामित्व रहेको होटल गरिमा लिमिटेडले अंकित दर रु. १०० का ५० लाख कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो, जसबाट कूल रु. ५० करोड बराबरको पूँजी संकलन हुनेछ।
उक्त साधारण सेयर निष्कासनका लागि होटल गरिमा लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक विनोद पौडेल र लक्ष्मी सनराइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ बीच पुस २५मा काठमाडौंको नयाँ बानेश्वरस्थित लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको कार्यालयमा द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो।
होटल गरिमा लिमिटेडको यो कदमले कम्पनीको विकास, पारदर्शिता अभिवृद्धि गर्नुका साथै नेपालको आतिथ्य तथा पर्यटन उद्योग, विशेष गरी कोशी प्रदेशमा लगानी अवसरको विस्तार प्रति कम्पनीको प्रतिबद्धता प्रतिबिम्बित गरेकाे छ ।
सोल्टी होटल एण्ड रिसोर्ट समूहद्वारा व्यवस्थापन गरिएको होटल गरिमामा १ रोयल सुइट, ८ वटा सुइट, ८ वटा एक्जिक्युटिभ रुम, ५४ वटा डिलक्स रुम र ६ वटा स्टुडियो रुम रहेका छन्। साथै होटलमा दुई वटा ब्यान्क्वेट हल, तीन वटा सेमिनार हल, “नुवाड थाइ” ब्रान्डद्वारा व्यवस्थापन गरिएको स्पा, जिम तथा रेस्टुरेन्ट–क्याफे लाउञ्जलगायतका अत्याधुनिक सुविधाहरू उपलब्ध छन्।




