काठमाडाैं । एनआइसी एसिया बैंक लिमिटेडको इटहरी शाखामा हतियारसहित प्रवेश गरी बैंकमा कार्यरत कर्मचारीमाथि गालीगलौज गर्दै अभद्र व्यवहार गरिएको तथा शाखा कार्यालयमा अराजक गतिविधि गरिएको घटनाप्रति बैंकले गम्भीर रूपमा चिन्ता जनाएकाे छ ।
बैंकजस्तो संवेदनशील र अत्यावश्यक सेवा प्रवाह हुने स्थानमा गरिने कुनै पनि गैरकानुनी तथा उच्छृङ्खल गतिविधि स्वीकार्य नभएकाे र यस्ता गतिविधिबाट बैंकमा कार्यरत कर्मचारीहरू मात्र होइन, समग्र बैंकिङ क्षेत्रमै असुरक्षित वातावरण सिर्जना भएको धारणा बैंककाे रहेकाे छ । बैंक कार्यालयभित्र हल्ला–हुल्लड गर्ने, आगजनी तथा ज्यानजोगाउने उद्देश्यका साथ पेट्रोलजस्ता अति प्रज्वलनशील पदार्थ प्रयोग गर्ने प्रयास गर्नु कानुनद्वारा वर्जित गम्भीर अपराध भएकाे र यस्ता क्रियाकलापहरूले मुलुकको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याइरहेको बैंकिङ क्षेत्रलाई नकारात्मक असर पार्नुका साथै कार्यरत वातावरणमा समेत गम्भीर प्रभाव पारेको हुँदा कर्मचारीहरू असुरक्षित महसुस गर्ने बैंककाे दाबी छ ।
कुनै पनि बहानामा कर्मचारीमाथि हुने यस्ता अभद्र व्यवहार सह्य नहुने भएकाले उक्त घटनामा संलग्न व्यक्तिमाथि सम्बन्धित निकायले आवश्यक अनुसन्धान गरी प्रचलित कानुनबमोजिम कारबाही गर्न तथा बैंक तथा बैंकमा कार्यरत कर्मचारीहरूको शान्ति–सुरक्षा कायम गराउन सम्बन्धित निकायसमक्ष बैंकले अनुरोध गरेकाे छ।




