प्रतिभा नक्षत्रको नेपाल शाखा स्थापना

काठमाडाैं । युरोपका विभिन्न देशहरूमा बसोबास गर्दै आएका नेपाली बालबालिकाहरूको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले स्थापना गरिएको प्रतिभा नक्षत्रले अब नेपालमा पनि आफ्ना विविध कार्यक्रमहरू सञ्चालन गर्ने भएको छ। नेपाली भेषभूषा, भाषा, साहित्य, कला तथा संस्कृतिको प्रवर्द्धन, पहिचान र पुस्तान्तरणका लागि बेलायतमा स्थापना भएको प्रतिभा नक्षत्रले नेपालमा आफ्नो शाखा स्थापना गरी प्रतिभा नक्षत्र नेपाल च्याप्टर गठन गरेको हो। हरेक वर्ष बेलायतमा आयोजना हुने यस कार्यक्रमहरूमा बेलायत तथा युरोपका विभिन्न देशहरूबाट नेपाली बालबालिकाहरूको उत्साहजनक सहभागिता रहँदै आएको छ।

नेपाली गीत, संगीत, नृत्य, कला, साहित्य, संस्कृति, विभिन्न जातजातिका भेषभूषा, पहिरन, खानपान र जीवनशैलीको पहिचान झल्काउने यी कार्यक्रमहरूले विदेशमा रहेर पनि नेपाली संस्कार र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका छन्। काठमाडौँमा आयोजित एक कार्यक्रममा प्रतिभा नक्षत्रका परिकल्पनाकार तथा कार्यक्रम संयोजक राजेन्द्र खसले प्रतिभा नक्षत्रका कार्यक्रम अब बेलायत तथा युरोपका नेपाली बालबालिकाका लागि मात्र नभई नेपालमै रहेका प्रतिभाहरूका लागि पनि सञ्चालन गर्ने उद्देश्यले नेपाल शाखा स्थापना गरिएको जानकारी दिए ।

सन् २०१६ मा बेलायतमा स्थापना भएको प्रतिभा नक्षत्र हाल सातौँ संस्करणसम्म सफलतापूर्वक सम्पन्न भइसकेको छ। प्रत्येक वर्ष बेलायतमा भव्य रूपमा आयोजना हुने यो कार्यक्रम नेपाली बालबालिकाका लागि मात्र नभई सबै उमेर समूहका सहभागीहरूका लागि ज्ञान, सीप, भाषा, कला र संस्कृतिको पहिचान झल्काउने प्रभावकारी माध्यम बन्दै आएको छ। कार्यक्रममा प्रस्तुत गरिने विभिन्न जातजातिका झाँकी, लाखे नृत्य, हस्तकला, गायन, वादन, कला तथा नृत्यको कलात्मक संयोजनले हरेक वर्ष बेलायतमा ‘सानो नेपालको’ अनुभूति गराउँदै आएको छ। प्रतिभा नक्षत्रको नेपाल शाखा स्थापना गर्नुको मुख्य उद्देश्य नेपाली पहिचान र मौलिक संस्कृतिको जगेर्ना, संरक्षण तथा प्रवर्द्धन गर्नु रहेको संस्थापकहरूले बताएका छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री