कामना सेवा विकास बैंकद्वारा विराटचोकको बाल आश्रमलाई खाद्यान्न तथा शैक्षिक सामग्री सहयोग

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रम अन्तर्गत शाखा कार्यालय विराटचोकमार्फत ब्रेथ अफ लाइफ (बाल आश्रम) लाई खाद्यान्न तथा शैक्षिक सामग्री वितरण गरेको छ । बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुसालले एक कार्यक्रमकाबीच बाल आश्रमका सञ्चालक निर्मला राईलाई खाद्यान्न तथा शैक्षिक सामग्री हस्तान्तरण गरेका थिए ।

सामग्री ग्रहण गर्दै सञ्चालक राईले गरिब तथा विपन्न वर्गका बालबालिकाको आधारभूत आवश्यकता, शिक्षा तथा उज्ज्वल भविष्य सुनिश्चित गर्न बैंकको सहयोगले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन् । उनले यस सहयोगले आश्रममा रहेका बालबालिकाको दैनिकी र शैक्षिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने भन्दै बैंकप्रति आभार व्यक्त गरिन् । कार्यक्रममा बोल्दै बैंकका कोशी प्रदेश प्रमुख भुसालले बाल आश्रमलाई प्रदान गरिएको खाद्यान्न तथा शैक्षिक सामग्रीले समुन्नत समाज निर्माणमा सहयोग पुग्ने उल्लेख गर्दै सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता कार्यक्रममार्फत हातेमालो गर्न पाएकोमा खुसी लागेकाे वताए ।

कार्यक्रममा विराटचोक उपमहानगरपालिकाकी उपमेयर नीतु थापा कोइराला, वडा अध्यक्ष योगेन्द्र सुवेदी, बैंकका कर्मचारी, बाल आश्रमका प्रतिनिधि तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो । बैंकले आगामी दिनमा पनि सरोकारवालाहरूसँगको समन्वय र सहकार्यमा यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिएकाे छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री