काठमाडौँ नाेबेल कलेज अफ हेल्थ एण्ड एजुकेशन फाउन्डेसन लिमिटेडको प्राथमिक शेयर निष्कासन

काठमाडौँ।  काठमाडौँ नाेबेल कलेज अफ हेल्थ एण्ड एजुकेशन फाउन्डेसन लिमिटेडले विद्यमान धितोपत्र दर्ता तथा निष्कासन सम्बन्धी नियमावली र धितोपत्र निष्कासन तथा बाँडफाँड सम्बन्धी निर्देशिकाहरूमा भएको व्यवस्था बमोजिम निकट भविष्यमा नियमनकारी निकायहरूबाट आवश्यक स्वीकृति प्राप्त गरी सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्कासन गर्ने भएको छ । कम्पनीले उक्त शेयर निष्कासन कार्यका लागि शेयर निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।

जारी पूँजी रु. ३ अर्ब ५० करोड रहेको यस नाबेल कलेज अफ हेल्थ एण्ड एजुकेशन फाउन्डेसन लिमिटेडले आफ्नो जारी पूँजीको करिब २८.५७  प्रतिशत शेयर सर्वसाधारणमा प्राथमिक निष्कासन गर्ने भएको छ भने संस्थापक समूह अन्तर्गत करिब ७१.४३ प्रतिशत शेयर कायम रहने कम्पनीले जनाएको छ ।

फ्रन्टलाइन ब्रान्डको नामबाट काठमाडौँको पुरानो बानेश्वरमा सञ्चालनमा रहेको यस अस्पतालको हालको क्षमता १०० शय्या रहेको छ भने यस अस्पतालले विश्वस्तरीय चिकित्सीय सेवा प्रदान गर्दै आइरहेको जानकारी दिइएको छ । थप सेवा विस्तारका लागि निर्माणको चरणमा रहेको थप २०० शय्या क्षमताको जनरल तथा क्यान्सर रोगलाई मध्यनजर गरी बनाइँदै गरिएको अस्पतालका लागि थप पूँजीको आवश्यकता पर्ने भएकाले कम्पनीले सार्वजनिक निष्कासनमा जान लागेको कम्पनीका अध्यक्ष नवराज पाण्डेले जानकारी गराएका छन् । अस्पतालले हाल स्नातक तहका विद्यार्थीहरूलाई लक्षित गरी नर्सिङ तथा फार्मेसीलगायतका शैक्षिक गतिविधिहरू पनि सञ्चालन गर्दै आइरहेको कम्पनीले जनाएको छ ।

चिकित्सीय सेवा तथा विभिन्न शैक्षिक कार्यक्रम प्रदान गर्दै आएको यस नाबेल कलेज अफ हेल्थ एण्ड एजुकेशन फाउन्डेसन लिमिटेडको स्थापना वि.सं. २०६२/०१/१९ मा भएको थियो र हाल यसको वार्षिक कारोबार ५० करोड भन्दा बढी रहेको जानकारी कम्पनीले दिएको छ । साथै हाल यस संस्थामा २०० भन्दा बढी कर्मचारीहरू कार्यरत रहेको पनि कम्पनीले जनाएको छ ।

आज सम्पन्न सो सम्झौतामा नाबेल कलेज अफ हेल्थ एण्ड एजुकेशन फाउन्डेसन लिमिटेडका तर्फबाट कम्पनीका अध्यक्ष नवराज पाण्डे तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री