काठमाडाै । माछापुच्छ्रे बैंक लिमिटेड र एसपीएसपीआई स्मार्ट पे सर्भिसेस पेमेन्ट (साइप्रस) लिमिटेडबीच साइप्रस, ग्रीस, पोर्चुगल तथा युरोपेली क्षेत्रहरूबाट नेपालमा रेमिट्यान्स सेवालाई अझ सहज, सरल र भरपर्दो बनाउने उद्देश्यसहित रेमिट्यान्स सम्झौता सम्पन्न भएको छ। माछापुच्छ्रे बैंक लिमिटेडले साइप्रसस्थित स्मार्ट पे सर्भिसेससँग औपचारिक रूपमा रेमिट्यान्स सम्झौता गरी साइप्रस, ग्रीस, पोर्चुगल तथा सम्पूर्ण युरोपेली मुलुकहरूबाट रेमिट्यान्स कारोबार सुरु गरिसकेको छ।
सम्झौतामा माछापुच्छ्रे बैंक लिमिटेडका तर्फबाट उप–प्रमुख कार्यकारी अधिकृत प्रसिधा राज आर्याल र स्मार्ट पे सर्भिसेसका तर्फबाट प्रमुख सञ्चालन अधिकृत स्टेफानी हेराक्लियसले हस्ताक्षर गरेका हुन् । यस सम्झौतापछि साइप्रस, ग्रीस, पोर्चुगल तथा युरोपेली क्षेत्रहरूमा रहेका नेपालीहरूले स्मार्ट पे सर्भिसेसका सबै स्टोर पोइन्टहरू, मोबाइल एप तथा अनलाइन सेवामार्फत सजिलै नेपालमा रेमिट्यान्स पठाउन सक्नेछन्। यस साझेदारीले विशेषगरी साइप्रस, ग्रीस, पोर्चुगल तथा युरोपेली क्षेत्रहरूमा रहेका ठूलो संख्यामा नेपाली प्रवासीहरूलाई लक्षित गर्दै अन्तरदेशीय रकम स्थानान्तरणलाई अझ सुलभ बनाउने लक्ष्य राखेको छ, जसले नेपालको रेमिट्यान्स आयमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।
नगद भुक्तानीका रूपमा पठाइएको रेमिट्यान्स माछापुच्छ्रे बैंकका १६५ शाखा, शाखारहित बैंकिङ सेवा, एक्सटेन्सन काउन्टरहरू तथा नेपालभर रहेका २०,००० भन्दा बढी भुक्तानी केन्द्रहरूबाट सहजै प्राप्त गर्न सकिनेछ। साथै, स्मार्ट पे सर्भिसेसमार्फत नेपालका कुनै पनि बैंक खातामा पठाइएको रेमिट्यान्स केही मिनेटमै तत्काल खातामा जम्मा हुनेछ। स्थापनाकालदेखि नै माछापुच्छ्रे बैंक लिमिटेड नयाँ प्रविधिमा आधारित बैंकिङ सेवा ग्राहकसम्म पुर्याउन प्रतिबद्ध रहँदै आएको छ। हाल बैंकले आफ्ना १६५ शाखा, ८८ शाखारहित बैंकिङ सेवा, ११ एक्सटेन्सन काउन्टर र १९९ एटिएममार्फत १८ लाखभन्दा बढी मूल्यवान ग्राहकहरूलाई पूर्ण बैंकिङ सेवा प्रदान गर्दै आएको छ।




