जगदम्बा स्टील्सको श्रमिक युनियनले गरेको क्रियाकलाप सम्बन्धमा प्रेस विज्ञप्ति जारी

काठमाडाैं । जगदम्बा स्टील्स लि. को श्रमिक युनियनले ८ गते श्रमिकहरूले प्राप्त गर्ने बोनसको विषयमा गरेको पत्रकार सम्मेलन तथा सो क्रममा उठाइएका उद्योगका आन्तरिक विषयवस्तु र मिडियामा प्रकाशित तथा प्रशारित समाचारप्रति  उद्योगको गम्भीर ध्यानाकर्षण भएको उद्योगको प्रेस विज्ञप्तिमा जनाइएकाे छ ।

युनियनका पदाधिकारीहरूले प्रचलित बोनस ऐन तथा नियम बमोजिम आफूले प्राप्त गर्ने बोनस रकम नबुझी मनोमानी ढंगले बोनस रकम माग गर्ने, माग बमोजिमको रकम प्राप्त नभएपछि व्यवस्थापनमा कार्यरत व्यक्तिहरूलाई धाकधम्की दिई उद्योग परिसरमा उपस्थित हुन असहज वातावरण सिर्जना गर्ने, आफू कार्यरत उद्योगको अहित हुने गरी मनगढन्ते तथा तथ्यहीन कुरा गरी पत्रकार सम्मेलन गर्नुका साथै उद्योग, कर्मचारी तथा श्रमिकसँग असम्बन्धित व्यक्तिहरूलाई उपस्थित गराई उद्योगको विरुद्धमा गलत सन्देश प्रवाह गर्ने जस्ता कार्य कानुनी तथा व्यवहारिक रूपमा समेत सह्य नभएकाे कम्पनीकाे दाबी रहेकाे छ।

उद्योग तथा उद्योगमा कार्यरत श्रमिकहरूबीच बोनस वितरणको सम्बन्धमा विवाद उत्पन्न भएपछि प्रचलित कानुन बमोजिम बोनस वितरण गर्न सहजीकरण गरिदिनका लागि श्रम कार्यालय वीरगञ्ज, पर्सालाई समेत अनुरोध गरिएको थियो । तर बोनस ऐन विपरीत गैरकानुनी रूपमा माग गरिएको रकम मिति २०८२/०६/०५ भित्र नदिए बन्दहडताल गर्ने भनी अल्टिमेटम दिइएकाले न्यायिक निकासका लागि अदालतको शरणमा जान बाध्य भएकाे र  सो सम्बन्धमा सम्मानित अदालतबाट विवाद निरूपण  भइसकेको विज्ञप्तिमा उल्लेखीत छ।

 फैसलामा चित्त नबुझे कानुनी उपचार खोज्नुपर्नेमा पुनः बोनसको बहानामा कारखानाको आधिकारिक ट्रेड युनियनद्वारा कारखाना बन्द गराउने धम्की दिने, पत्रकार सम्मेलन गर्ने तथा सामाजिक सञ्जालमार्फत धम्कीपूर्ण सामग्री सम्प्रेषण गरी दबाब सिर्जना गर्ने जस्ता गैरजिम्मेवार कार्यहरू हुँदै आएका छन् भन्ने दाबी कम्पनीकाे छ । साथै प्रचलित ऐन तथा नियम बमोजिम कर्मचारी तथा श्रमिकहरूलाई बोनस उपलब्ध गराउन तयार हुँदाहुँदै पनि बोनस ऐनको बर्खिलाप हुने गरी बोनस रकम माग गरिएको र उक्त रकम नदिए हुलास स्टील उद्योग, त्रिवेणी स्पिनिङ उद्योग तथा भगवती स्टील इन्डस्ट्रिजमा श्रमिक युनियनले उद्योगका पदाधिकारीहरूमाथि गरेको दुर्व्यवहार जस्तै यस उद्योगमा पनि सोही किसिमको व्यवहार गरिने भन्दै धाकधम्की दिँदै आएको तथा मिति २०८२/०५/२९ गते सोही किसिमको व्यवहार गरिएको हुँदा उद्योग व्यवस्थापन पक्ष विगत ३ महिनादेखि उद्योग परिसरमा उपस्थित नभएको उल्लेख गरिएकाे छ  ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री