काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले राजनीतिक स्वार्थ पूरा गर्न बैंक तथा वित्तिय संस्थाका कर्मचारीहरुलाई कुनै प्रकारको असहजता हुन नहुने उल्लेख गरेका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले सोमबार काठमाडौंमा आयोजना गरेको ‘बैंकिङ क्षेत्रमा बढेका चुनौती र गर्नुपर्ने काम’ विषयक छलफल कार्यक्रममा उनले बैंकिङ क्षेत्र ५० हजार नेपालीलाई रोजगारी दिएको भन्दै राजनीति स्वार्थको लागि यो क्षेत्रमा असर पुर्याउने काम नगर्न अनुरोध गरेका छन् ।
कोइरालाले भने, ‘आफ्नो राजनीतिक स्वार्थ पूरा गर्न बैंक तथा वित्तिय संस्थाका कर्मचारीहरुलाई कुनैपनि प्रकारको असहजता र पछिल्लो समयमा भएका घटनाहरु हुनु भएन । हामी यसको विरोध गर्छौं । ५० हजार नेपालीलाई नै रोजगारी दिएर बसेको बैंकिङ क्षेत्रमा राजनीतिक अवरोध नगर्न अनुरोध गर्दछु ।’ उनले राजनीतिक विषयमा कुनै चासो नभएपनि राजनीति बढाउने क्रममा बैंक तथा वित्तिय संस्थाका कर्मचारीहरुमाथि धरपकडहरु, धम्की आउने गरेको भन्दै यसलाई सहेर नबस्ने बताए ।
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलका संयोजक डा. रेवतबहादुर कार्कीले अर्थ क्षेत्रमा ६६ प्रतिशत योगदान बैंकिङ क्षेत्रको भएको हुनाले पहिला सुुधार आफैबाट गर्नुपर्ने बताए । उनले भने, ‘अर्थ क्षेत्रमा ६६ प्रतिशत योगदान बैंकिङ क्षेत्रको छ । त्यो हिसाबले हेर्दा पहिला हामीले आफैबाट सुधार गर्नुपर्छ ।’




