गण्डकी प्रदेशको योजना तर्जुमाका लागि सुझाव सङ्कलन

काठमाडाैँ । गण्डकी प्रदेशको नीति तथा योजना आयोगले पञ्चवर्षीय योजना तर्जुमाका लागि शुक्रबार म्याग्दीका सरोकारवालाबाट सुझाव सङ्कलन गरेको छ। बेनीमा छलफल कार्यक्रमको आयोजना गरेर प्रदेशका सांसद, जिल्ला समन्वय समिति, स्थानीय तहका जनप्रतिनिधि, निजी क्षेत्र, गैरसरकारी सङ्घसंस्था र सरोकारवालाबाट सुझाव सङ्कलन गरेको हो।

छलफलका क्रममा म्याग्दी जिल्लाको समग्र विकासको अवस्था, समस्या, चुनौती, सम्भावना र समस्याको समाधानका उपायको विषयगत रूपमा लिखित सुझाव सङ्कलन गरिएको छ। सहभागीले म्याग्दीको पर्यटन, जलविद्युत्, कृषि, पशुपालन र वनपैदावारको क्षेत्रमा रहेको सम्भावनालाई गरिबी निवारण, आयआर्जन वृद्धि र जीवनस्तर रुपान्तरणमा मद्दत पुग्ने किसिमका योजना तथा कार्यक्रम तय गर्न सुझाव दिएका छन्।

म्याग्दीको सम्भावनालाई विकास र आयआर्जनमा रुपान्तरणका लागि पूर्वाधार निर्माण र सामाजिक विकासमा प्राथमिकता दिन सुझाव दिएको जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले बताए। भौगोलिक विकटता, सामाजिक पछौटेपन, बसाइँसराइका कारण उत्पन्न जटिलताको समाधानमा प्राथमिकता दिनुपर्ने सुझाव रहेको छ।

कार्यक्रममा गण्डकी प्रदेशको सामाजिक विकासमन्त्री नरदेवी पुनले प्रदेशको वस्तुगत धरातलमा आधारित रहेर सरोकारवालाको सुझावअनुसार पञ्चवर्षीय योजना बनाउन लागिएको बताए। गण्डकी प्रदेशका सांसद विनोद केसीले आवश्यकता र समस्याका आधारमा तय गरिएका योजना, नीति र कार्यक्रममा अपनत्व महसुस भई प्रभावकारी कार्यान्वयमा सघाउ पुग्ने भएकाले सुझाव सङ्कलन गरिएको बताए।

आयोगका अध्यक्ष डा. गिरिधारी शर्मा पौडेलले सरोकारवालाको सुझाव र विषयवस्तुलाई प्रदेशको नीति, योजना र बजेटमा समेटिने बताए।

सामुदायिक स्वास्थ्य एकाइ स्थापना

म्याग्दीको रघुगङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँटमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना भएको छ।

एक जना अहेवको व्यवस्था गरेर यसै हप्तादेखि सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन गरिएको वडाध्यक्ष जीवन मल्लले बताए। एकाइलाई व्यवस्थित, नियमित र प्रभावकारी बनाउन पूर्वाधारको व्यवस्था गरिने अध्यक्ष मल्लले बताए।

पिप्ले पुगेर आउन दुई घण्टाभन्दा बढी समय लाग्ने गरेकामा एकाइ स्थापना भएपछि करीब डेढ सय घरधुरीको बसोबास रहेको मौवाफाँटवासीलाई सहज भएको छ। एकाइबाट स्वास्थ्य परीक्षण, परामर्श र निःशुल्क औषधि वितरणको सुविधा दिइने भएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

अहिलेसम्म ३३ स्थानको नतिजा आयो, कहाँ कसले जिते ? (सूचीसहित)

काठमाडौं । स्थानीय तहमा रिक्त पदका लागि आइतबार सम्पन्न उपनिर्वाचन नतिजा धमाधम आइरहेको छ । …

प्रतिकृया दिनुहॊस