काठमाडौं । दोस्रो विश्वव्यापी परम्परागत चिकित्सा शिखर सम्मेलन आजदेखि भारतमा सुरु हुँदै छ । भारत र विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को सहकार्यमा आयोजना गरिएको उक्त सम्मलेन आजदेखि पुस ४ गतेसम्म सञ्चालन हुँदै छ ।
याे सम्मेलन विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को विश्वव्यापी परम्परागत चिकित्सा रणनीति सन् २०२५–२०३४ द्वारा निर्देशित रहेकाे छ । सम्मेलन जनकेन्द्रित स्वास्थ्य सेवा तथा पृथ्वीको समग्र कल्याणमा परम्परागत चिकित्सा प्रणालीहरूले कसरी सार्थक योगदान पुर्याउन सक्छन् भन्ने विषयमा केन्द्रित हुने छ ।
विश्वका नेता, वैज्ञानिक, परम्परागत चिकित्सा अभ्यासकर्ता तथा समुदायहरूलाई एकै ठाउँमा ल्याई सहकार्यलाई प्रबद्र्धन गर्ने र डब्लूएचओको नयाँ वैश्विक परम्परागत चिकित्सा रणनीति २०२५–२०३४ को कार्यान्वयनलाई अघि बढाउने लक्ष्य सम्मेलनले राखेको छ । साथै सम्मेलनमा आयुर्वेद, योग, सिद्ध, युनानी, परम्परागत चिनियाँ चिकित्सा लगायत विश्वका विभिन्न परम्परागत उपचार पद्धतिहरूको वैज्ञानिक आधार, आधुनिक स्वास्थ्य प्रणालीसँगको एकीकरण, नीति निर्माण, अनुसन्धान तथा दिगो अभ्यासका विषयहरू पनि केन्द्रमा रहनेछन् ।



