विराटनगरलाई हराउँदै लुम्बिनी पुग्यो फाइनलमा

काठमाडाै । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधिका लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुने भएको छ। बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनले पराजित गर्दै लुम्बिनीले सुदूरपश्चिमसँग उपाधि भिडन्त पक्का गरेको छ। उपाधि भिडन्त पर्सी शनिबार साढे तीन बजे हुनेछ। गत सिजन सुदूरपश्चिम उपविजेता बनेको थियो भने लुम्बिनी अंक तालिकाको पुछारमा रहेको थियो।

बिहीबार दोस्रो क्वालिफायरमा लुम्बिनीले दिएको १३५ रनको सामान्य लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट हुन पुग्यो। सामान्य लक्ष्य भएपनि विराटनगरले खराब सुरूवात गर्‍यो। उसले ६ बलको अन्तरमा सुरुवाती तीन ब्याटरलाई गुमायो।

लुम्बिनीका रुबेन ट्रम्पलम्यानले पहिलो ओभरको पाँचौ बलमा मार्टिन गप्टिललाई २ रनमा जेजे स्मिटबाट क्याच गराए। अन्तिम बलमा लोशेक बम बोल्ड भए। लुम्बिनीले उत्कृष्ट सुरुवात गर्दै विराटनगरलाई पहिलो ओभरदेखि नै दबाबमा राख्यो। दोस्रो ओभरको तेस्रो बलमा पाफ डु प्लेसिस (३ रन) मा शेर मल्लबाट बोल्ड हुँदा फेरि अर्को खेलमा विराटनगरको टप अर्डर कोल्याप्स्ड भयो।

यसअघि पहिलो क्वालिफायरमा सुदुरपश्चिमविरूद्ध पनि विराटनगरको टप अर्डर कोल्याप्स्ड भएको थियो। विराटनगरले सातौं ‌ओभरमा चौथो विकेट गुमायो। शंकर राना (७ रन) लाई तिलकराज भण्डारीले बोल्ड गरिदिए। त्यतिबेला विराटनगरले ३० रन जोडेको थियो। त्यसपछि साम हिजलेट र मर्स्याङ डी लाङले पाँचौ विकेटका लागि २८ रनको साझेदारी गरे। तर हिजलेट एघारौं ओभरको अन्तिम बलमा जेजे स्मिटको बलमा दुर्गेश गुप्ताबाट समातिदा विराटनगर संकटमा पर्‍यो। हिजलेटले ३४ रन जोड्ने क्रममा २८ बलमा खेलेर २ चौका र २ छक्का प्रहार गरे। दुई ओभरपछि बसिर अहमद पनि आउट हुन पुगे।

सन्दीपबाट १८औं ओभरको पाँचौ बलमा क्याच भएका डिक्वेलाले २२ बलमा ४ चौका प्रहार गरे। अन्तिम ओभरको पाँचौ बलमा शेर मल्ललाई ७ रनमा प्रतिश जिसीले क्याच गराए। रुबेल ट्रम्पलम्यानले नटआउट ११ रन जोडे। बलिङमा विराटनगरका सुवास भण्डारीले ३ विकेट लिँदा ४ ओभरमा १४ रन मात्र दिए। प्रतिश जिसीको नाममा पनि ३ विकेट रह्यो। उनले ४ ओभरमा २७ खर्चिए। कप्तान सन्दीप लामिछानेले २ विकेट लिने क्रममा ४ ओभरमा १८ रन खर्चिए। खेलका लागि विराटनगरमा दुई परिवर्तन गरेको थियो।

नारायण जोशी र सूर्य तामाङको स्थान सुवास भण्डारी र शंकर रानाले खेले। पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ७७ रनले पराजित भएपछि विराटनगरले दोस्रो क्वालिफायर खेल्ने पाएको थियो। लुम्बिनीले भने इलिमिनेटरमा काठमान्डु गोर्खाजलाई ४ विकेटले हराएर दोस्रो क्वालिफायरमा पुगेको थियो। लुम्बिनीले इलिमिनेटरमा बुधबार काठमान्डु गोर्खाजलाई ४ विकेटले हराएर दोस्रो क्वालिफायरमा पुगेको हो।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री