काठमाडौं । लैङ्गिक हिंसाको स्वरूप तीव्र रूपमा परिवर्तन भइरहेको भन्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले डिजिटल हिंसाका कारण अब भौतिक सुरक्षा मात्र पर्याप्त नहुने बताएका छन् । मंगलबार राजधानीमा संचारिका समूह नेपालले आयाेजना गरेकाे लैङिक हिंसा र सञ्चार माध्यमको भूमिका विषयक कार्यक्रममा बोल्दै उनले डिजिटल माध्यमबाट हुने मनोवैज्ञानिक दबाब, धम्की, अपमानजनक टिप्पणी र चरित्रहत्या जस्ता घटनाले घरमै बस्दा पनि असुरक्षित महसुस गर्न थालेको बताएका हुन् ।
कार्यक्रममा बोल्दै मन्त्री खरेलले भने, ‘अहिलेको लैङिक हिंसा को परिदृश्य, प्रवृति, शैली कसरी परिर्वतन हुँदै आएको छ भने तपाई आफ्नो घरमा पूर्णरुपमा सुरक्षित हुनुहुन्छ । दिनभरी थकाई मार्दै सुरक्षित स्थानमा बसी सामाजिक सञ्जाल नियाल्दा एकाएक शरिर काँप्न थाल्छ, मुटु फुट्ला जस्तो हुन्छ । घरमा सबैबाट सुुरक्षित रहेर पनि तपाई आफूले आफूलाई यति धेरै असुरक्षित महसुस गर्नुहुन्छ की त्यो संसार तपाईका लागि सुरक्षित लाग्दैन ।’
मन्त्री खरेलले बढ्दै गएकाे डिजिटल हिंसाले महिला, किशोरी, परिवारका सदस्य तथा डिजिटल प्लेटफर्म प्रयोग गर्ने जो–कोहीलाई प्रभावित पार्दै गएको छ।
‘तपाईं भनेको मेरी आमा, मेरी श्रीमती, दिदीबहिनी वा साथी जो–कोही हुन सक्नुहुन्छ। म डिजिटल हिंसाको कुरा गरिरहेको छु,’ उनले थपे।
उनले डिजिटल हिंसाका कारण मानिसहरूमा मानसिक तनाव बढ्दै गएको पनि बताए । आत्महत्याका दरमा समेत वृद्धि देखिन थालेको तथा केवल भौतिक सुरक्षा अब पर्याप्त नहुने स्थिति आएको उनकाे धारणा थियाे । उनले भने, ‘डिजिटल हिंसाको प्रवृति परिवर्तन भयो । आज आत्महत्याको दर बढिरहेको छ । मान्छे किन असुरक्षित महसुस गरिरहेको छ भन्दा उसलाई भौतिक सुरक्षाले मात्र सुरक्षा दिने रहेनछ । त्यसैले हामीले डिजिटल हिंसाको बहस सुरु गर्नुपर्यो।’ सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै यसको सदुपयोग, दुरुपयोग र व्यवस्थापनका पक्षबारे व्यवस्थित शिक्षा आवश्यक रहेको धारणा उनले राखे। ‘अब सामाजिक सञ्जाल चलाउन मात्र जानेर हुँदैन; यसको उपयोग, सदुपयोग कसरी गर्ने र व्यक्तिगत सुरक्षाका उपायहरू के–के हुन्, यसको व्यवस्थापन कसरी गर्ने भन्ने पनि जान्नुपर्छ,’उनले स्पष्ट पारे ।
संचार तथा सूचना प्रबिधि सचिव राधिका अर्यालले डिजिटल माध्यमले ल्याएकाे हिंसाकाे रुप डरलाग्दाे रहेकाे वताइन् । संचार माध्यमले पीडकलाइ संरक्षण गर्ने पीडितलाइ झनै पीडा हुने गरी समाचार बन्ने गरेकाे भन्दै सचेत हुन आग्रह गरिन् । कार्यक्रममा संचारिका समूहकी अध्यक्ष कमला पन्थीले डिजिटल हिंसाले विशेषत महिलाहरुलाइ बढी प्रभावित गरेकाे वताइन् । संस्थाकी संस्थापक अध्यक्ष बन्दना राणाले बदलिंदाे परिवेशसँगै हिंसाका प्रकारहरु पनि बदलिंदै डिजिटल माध्यमबाट देखिन थालेकाे वताउँदै यसबाट बच्न चनाखाे हुनुपर्ने वताइन् ।
कार्यक्रममा पत्रकार महासंघकी उपाध्यक्ष नितु पण्डितले प्रबिधिकाे विकाससँगै संचार माध्यमहरु अझै जिम्मेवार बन्नुपर्ने तर कन्टेन्टहरु पीडित मैत्री नभएकाे धारणा राखिन् । संचारिकाकी निवर्तमान अध्यक्ष बिमला तुम्खेवाले महिलाहरु दाेहाेराे तेहराे जिम्मेवारीमा रहेपनि पत्रकारिताकाे यात्रालाइ बखुबी निभाउन सफल रहेकाे देख्दा खुसी लागेकाे वताउँदै डिटिजल हिंसाका विरुद्द लड्नुपर्ने चुनाैती रहेकाे धारणा राखिन् ।
हिंसाकाे रुप बदलिएकाे बताउँदै प्रेस काउन्सिल नेपालकी बाेर्ड सदस्य निमा काफ्लेले डिजिटल हिंसाका विभिन्न उजुरीहरु प्रेस काउन्सिलमा पर्दै आएकाेले यसतर्फ सचेत हुन सबैलाइ आग्रह गरिन् । संस्थाकी उपाध्यक्ष वसन्ती वास्ताेलाले डिजिटल हिंसा अहिलेकाे समाजमा बढ्दै गएकाे र यसबाट सबैभन्दा पीडित महिलाहरु रहेकाले संचार माध्यमले विषयवस्तु प्रकाशनमा विशेष सचेत हुन आग्रह गरिन् । कार्यक्रम संस्थाकी महासचिव राधा खनालले संचालन गरेकी थिइन् । महिलाका विषयमा कलम चलाउँदै आएका करिव ७० पत्रकारकाे उपस्थिति रहेकाे थियाे ।




