काठमाडाै । विराटनगर किंग्समाथि ७७ रनरको सानदार जित निकाल्दै सुदूरपश्चिम रोयल्स सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा पुगेको छ। सुदूरपश्चिम लगातार दोस्रो सिजन फाइनलमा पुग्न सफल भएकाे छ। अघिल्लो सिजनको फाइनलमा भने सुदूरपश्चिमले जनकपुर बोल्ट्ससँग हारेको थियो। अब उपाधिका लागि सुदूरपश्चिमले शनिबार हुने फाइनलमा दोस्रो क्वालिफायरको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
१५६ रनको लक्ष्य पछ्याएको विराटनगरलाई सुदूरपश्चिमले १४.१ ओभरमा ७८ रनमा अलआउट गर्दै सानदार जित निकाल्न सफल भयाे । विराटनगरले सुरूवात अन्त्यन्त खराब रह्यो। विराटनगरले पहिलो सात बलको अन्तरमा तीन विकेट गुमाउँदा संकटमा परेको थियो। पहिलो ओभरमा साम हिजलेट र मार्टिन गप्टिल आउट भए भने दोस्रो ओभरको पहिलो बलमा नरेन भट्ट पेभिलियन फर्किए।
बलिङमा सुदूरपश्चिमका अभिनास बोहरा, कुगेइलिन र हर्मित सिंहले २-२ विकेट लिए। टस जितेको विराटनगरले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ७ विकेटको क्षतिमा १५५ रन बनायो।
विराटनगरका लागि ओपनर विनोद भण्डारीले अर्धशतक प्रहार गरे। १९ औं ओभरको अन्तिम बलमा विराटनगरका प्रतिश जिसीको बलमा साम हिजलेटबाट क्याच हुनुअघि भण्डारीले ५२ बलमा ३ चौका र २ छक्काको मद्दतमा ६३ रन बनाए। अर्का ओपनर मख्तर अहमदले १० रन बनाउन सके। १० बलमा २ चौका प्रहार गरेका उनलाई विराटनगरका मस्याङ डि लाङले तेस्रो ओभरको पाँचौ बलमा बोल्ड गरेका थिए।
अन्तिम ओभरमा बाउन्ड्रीमा डि लाङको बलमा समातिनुअघि आरिफ शेखले १३ बलमा २० रन बनाए। आरिफले २ चौका र १ छक्का प्रहार गरे। बलिङमा विराटनगरका मर्स्याङ डि लाङ र प्रतिश जिसीले २-२ विकेट लिए। डि लाङले ४ ओभरमा २३ रन दिँदा प्रतिशले ३ ओभरमा ३१ रन खर्चिए। साम हिजलेट र सूर्य तामाङको नाममा १-१ विकेट रह्यो। आजको खेलमा पराजित भएको विराटनगरले अब बिहिबार हुने दोस्रो क्वालिफायरमा खेल्नेछ।




