रामेछाप । ऊर्जा, जलस्रोत तथा सिँचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले समग्र देशलाई उज्यालो बनाउने आफू नेतृत्वमा आउन खोजेको बताएका छन् । ऊर्जा क्षेत्रमा आफूले देशलाई उज्यालो बनाएको बताउँदै उनले अब देशको नेतृत्व गरेर सिङ्गो देशलाई नै उज्यालो बनाउन चाहेको बताए । सुनापति गाउँपालिकामा सुनापती आधारभूत अस्पतालको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री घिसिङले देशलाई उज्यालो बनाउने आफ्नो अभियानमा सहयोग गर्न आग्रह गरे । घिसिङले केही दिनअघि मात्रै उज्यालो नेपाल पार्टी घोषणा गरेका छन् । मन्त्री घिसिङले नागरिकहरूलाई अहिलेको सरकारबाट धेरै आशा नराख्न सुझाव दिँदै आगामी फागुन २१ गते हुने निर्वाचनमा जिम्मेवार निर्णय गर्न आग्रह गरे । उनेले सो निर्वाचनमा आफ्नो पार्टीलाई देशभरिबाट जिताएर आफूलाई देशको नेतृत्वमा पु¥याउन आग्रह गरे ।
आगामी सरकारबाट धेरै काम गर्नुपर्ने भएकोले आगामी सरकारको नेतृत्व दिनसक्ने व्यक्ति आफू भएको उनले दाबी गरे । परिवर्तनलाई संस्थागत गर्न चुनाव गर्न आवश्यक रहेको बताउँदै उनले त्यसको लागि आफू जस्ता व्यक्ति चुनिन आवश्यक रहेको बताए । आफूले सरकारी कर्मचारी भएर राम्रो काम गरेको भन्दै घिसिङले अब देशको नेतृत्व गर्न आवश्यक रहेको बताए । ‘आगामी दिनमा यो देशको नेतृत्व पनि गर्नुपर्छ भन्ने मलाई लागेको छ, त्यसको लागि तपाईँहरूको साथ सहयोग आवश्यक छ, सम्पूर्ण क्षेत्रलाई उज्यालो बनाउन देशको नेतृत्व गर्न आवश्यक छ भन्ने लागेको छ, यसको लागि साथ सहयोग गर्न म तपाईँहरूलाई आग्रह गर्दछु’, उनले भने । उनले देशभरि नै बिजुलीको उज्यालो आफूले पुर्याएको दाबी गरे । रोजगारी, सुशासन र नागरिक हितको लागि काम गर्न देशभरिबाट योग्य मानिसलाई चुन्न घिसिङले आग्रह गरे ।
सुनापती गाउँपालिका अध्यक्ष ठुलोकान्छा तामाङको अध्यक्षतामा भएको कार्यक्रममा वाग्मती प्रदेश सभा सदस्य युवराज चौलागाईँ, जिल्ला समन्वय समिति रामेछापका उपप्रमुख प्रेमसागर थापा, गाउँपालिका उपाध्यक्ष गीता विष्ट चौलागाईँ, निवर्तमान गाउँपालिका अध्यक्ष धावा लामा, विभिन्न राजनीतिक दलका प्रतिनिधिलगायत सहभागी थिए । २०७७ साल मंसिर १५ गते शिलान्यास गरिएको सो अस्पताल भवनबाट एक वर्ष अघिदेखि सेवा प्रदान गर्दै आएको भए पनि मन्त्री घिसिङले अस्पताल सञ्चालनमा आएको एक वर्ष पछि उद्घाटन गरेका हुन् । कुल ७ करोड ९० लाख ७५ हजार २ सय ८८ रुपैँयाको लागतमा निर्माण भएको अस्पताल बिएनबिआरएनसिएफ जेभिले निर्माण गरेको हो ।
देशलाई उज्यालो बनाउन मुलुककै नेतृत्व गर्ने सोच छु : कुलमान घिसिङ
तपाईंको प्रतिकृया




