काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले हरेक वर्ष पाँचवटाजति नयाँ डिप ट्युबवेल बनाउने गर्छ। ९० वटा डिप ट्युबवेल सञ्चालन गर्दै आएको केयुकेएलले यो वर्ष पनि नयाँ ट्युबवेल खन्ने काम जारी राखेको छ।
उपत्यकामा पानी अभावका कारण नयाँ ट्युबवेल बनाउनुपर्ने माग अत्यधिक रहेको उसले जनाएको छ। तर, सञ्चालन भएरहेको र नयाँ बन्दै गरेका ट्युबवेलको पानी मेलम्चीको पानी काठमाडौं आएपछि सञ्चालन गर्न सजिलो नरहेको केयुकेएलले जनाएको छ।
नयाँ पाइपलाइनबाट शुद्धीकरण गरिएको पिउनयोग्य मेलम्चीको पानी वितरण गर्ने तयारी केयुकेएलको छ भनेर अर्जुन पाैडेलले अाजकाे नयाँ पत्रिका दैनिकमा खबर लेखेका छन्।
मेलम्ची खानेपानी आयोजनाअन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालयले अहिले मेलम्चीको पानी वितरणका लागि बिछ्याइएको पाइपलाइन सफा गर्दै छ।
मेलम्चीको पानी आएपछि पाइपलाइन पुनः निर्मलीकरण गरेर मात्र पानी वितरण गर्ने तयारी निर्देशनालयको छ।
‘मेलम्चीको पानी जान नसक्ने स्थान बाहेकका स्थानमा गाडिएका ट्युबवेलमा हामीले गर्दै आएको लगानी व्यर्थमा खेर जाने सम्भावना रहन्छ,’ केयुकेएलका महाप्रबन्धक महेशकुमार भट्टराईले भने।
एउटा ट्युबवेल खन्न र सञ्चालनमा ल्याउन कम्तीमा एक करोड खर्च हुने र ट्युबवेलको पानी शुद्धीकरण गरेर उपभोक्ताको धारामा वितरण गर्न र पाइपलाइन बिछ्याउन थप लाखौँ खर्च हुने उनले बताए ।
९० भन्दा बढी प्रशोधन केन्द्र सञ्चालन गर्न प्राविधिक र आर्थिक दुवै रूपमा सम्भव नरहेको र प्रशोधन नगरिएको पानी मेलम्चीको पानी वितरण गरिने पाइपलाइनमा मिसाउँदा पाइपलाइन नै दूषित हुने उनको भनाइ छ।




