कांग्रेसको केन्द्रीय समितिले ल्याउनेछ पुस मसान्तमा १५ औं महाधिवेशन गर्ने कार्यतालिका

काठमाडाै । नेपाली कांग्रेसले भोलि बस्ने केन्द्रीय समिति बैठकबाट १५ औं महाधिवेशनको कार्यतालिका ल्याउने तयारी गरेको छ। सोमबार दिउँसो २ बजे सानेपामा बस्ने केन्द्रीय समिति बैठकले नियमित महाधिवेशन कार्यतालिका ल्याउन लागेको नेताहरूले जानकारी दिएका छन्। २८ गतेदेखि सुरू भएको केन्द्रीय समिति बैठक महाधिवेशन तिथिमिति तय गर्न नसक्दा नेताहरूले पटक पटक स्थगित गरेर छलफलमा थिए । सभापति देउवा र कार्यवाहक सभापति खड्का र नेता रमेश लेखकले केही समयदेखि समन्वयकारी भूमिका निर्वाह गर्दै फागुन २१ को चुनावभन्दा अघि नै महाधिवेशन गर्ने गरी कुराकानी अघि बढाएका थिए ।

यस विषयमा पार्टीका शीर्ष तहमा लगभग सहमति छ। पूर्वउपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले मात्र यस विषयमा खुलेर आलोचना गर्दै ‘नोट अफ डिसेन्ट’ लेख्ने चेतावनी दिइरहेका छन्।

प्रवक्ता प्रकाशशरण महतका अनुसार नियमित महाधिवेशन कार्यतालिका ल्याउन कार्यवाहक सभापति खड्का लगायतले गृहकार्य गरेका छन्। सभापति, कार्यवाहक सभापति, दुवै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा, नेता शेखर कोइराला र केन्द्रीय सदस्य रमेश लेखकलगायत पुस अन्तिम साता १५ औं महाधिवेशन गरेर जाने गरी कार्यतालिका ल्याउन सहमत भएका हुन्।

कांग्रेसमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गर्दै गत असोज २९ गते हस्ताक्षर बुझाएकोले त्यसको तीन महिनाभित्र विशेष महाधिवेशन आयोजना गर्नुपर्ने बिधानले भन्छ। तीन महिना आउदाे पुस २८ गते पुग्छ। त्यसैले उक्त अवधि भित्रै नियमित महाधिवेशन गर्ने गरी भोलिको केन्द्रीय समितिबाट कार्यतालिका ल्याउने तयारीमा शीर्ष नेताहरू जुटेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री