काठमाडौं । हुलास फिनसर्भ हायर पर्चेजको वार्षिक साधारणसभा भर्खरै सम्पन्न भएको छ । नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त कर्जा प्रदायक कम्पनीको साधारणसभाले आईपीओ जारीसहित विविध एजेन्डा पारित गरेको छ ।
सभामा सञ्चालक समितिका अध्यक्षले प्रस्तुत गरेको आव २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन, तथा नाफा–नोक्सान, नगद प्रवाह विवरण सहितका वित्तीय प्रतिवेदनहरूमाथि विस्तृत छलफल गरी सर्वसम्मतिले स्वीकृत गरिएको बताइएको छ ।
बुक बिल्डिङमार्फत् प्राथमिक सेयर निष्काशन (आईपीओ) ल्याउने तयारी रहेको हुलास फिनसर्भ हायर पर्चेजको आम्दानी ७९ प्रतिशतले बढेको छ । कम्पनीको आम्दानी सन् २०२४ को तुलनामा सन् २०२५ मा ७८.७५ प्रतिशतले बढेको हो ।
कम्पनीले सन् २०२४ मा ५३ करोड २० लाख रुपैयाँ आम्दानी गरेको थियो । सन् २०२५ मा आम्दानी बढेर ९५ करोड १० लाख रुपैयाँ पुगेको छ । कम्पनीले २०२३ मा ४८ करोड ८० लाख रुपैयाँ, सन् २०२२ मा ५२ करोड १० लाख रुपैयाँ र सन् २०२१ मा ६१ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको थियो ।
कम्पनीले बुक बिल्डिङमार्फत् २० लाख ७५ हजार कित्ता सेयर निष्कासन गर्दैछ । जसमध्ये ४० प्रतिशतमा योग्य संस्थागत लगानीकर्ता र ६० प्रतिशतमा सर्वसाधरणको लगानी रहनेछ । सेयर निष्काशनका लागि कम्पनीले २०८१ को असोजमै एनएमबि क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको जानकारी दिएको छ ।




