एनपिएलमा आज दुई खेल : सोमपालविरुद्ध रोहित र करणसामु सन्दीप मैदान उत्रिँदै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण अन्तर्गत शनिबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा रोमाञ्चक ‘डबल हेडर’ खेलहरू हुँदैछन् । राष्ट्रिय टोलीका वर्तमान तथा पूर्व कप्तानदेखि स्टार खेलाडीहरूको बाहुल्य रहने आजका खेलहरूले घरेलु क्रिकेटको माहोल तताउने निश्चित छ ।

पहिलो खेल : सोमपाल र रोहितको रणनीतिक परीक्षा
शनिबारको बिहानी सत्रको खेल कर्णाली याक्स र लुम्बिनी लायन्सबीचको प्रतिष्ठाको लडाइँ बन्नेछ । बिहान ११:१५ बजे सुरु हुने यो खेलमा राष्ट्रिय टिमका कप्तान रोहितकुमार पौडेल र अनुभवी अलराउन्डर सोमपाल कामी आमनेसामने हुँदैछन् ।

रोहितको कप्तानीमा रहेको लुम्बिनी लायन्स उच्च मनोबलका साथ मैदान उत्रिनेछ । आफ्नो पहिलो खेलमा चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको लुम्बिनी लगातार दोस्रो जित निकाल्दै अंक तालिकामा बलियो उपस्थिति जनाउने दाउमा छ । यता, सोमपाल कामीको नेतृत्वमा रहेको कर्णाली याक्स भने पहिलो जितको व्यग्र प्रतीक्षामा छ । पहिलो खेलमा चितवनसँग ४ विकेटको पराजय भोगेको कर्णालीका लागि आजको खेलमा पुनरागमन गर्नैपर्ने दबाब छ ।

दोस्रो खेल : करण र सन्दीपको रोचक भिडन्त
दिउँसो ३:३० बजे हुने दोस्रो खेलमा काठमाण्डु गुर्खाज र विराटनगर किंग्स भिड्दैछन् । यो खेललाई राष्ट्रिय टोलीका प्रमुख फास्ट बलर करण केसी र विश्वचर्चित लेग स्पिनर सन्दीप लामिछानेबीचको शक्तिको परीक्षणका रूपमा हेरिएको छ ।

करणको कप्तानीमा रहेको काठमाण्डुले अहिलेसम्म मिश्रित नतिजा निकालेको छ । जनकपुर बोल्टसलाई ५ विकेटले हराएर सुखद सुरुवात गरेको काठमाण्डुले दोस्रो खेलमा सुदूरपश्चिमसँग २९ रनको हार व्यहोरेको थियो । दुई खेलबाट दुई अंक जोडेको काठमाण्डु लयमा फर्कन चाहन्छ ।

अर्कोतर्फ, सन्दीप लामिछानेको नेतृत्वमा रहेको विराटनगर किंग्सले प्रतियोगितामा सानदार सुरुवात गरेको छ । पहिलो खेलमा पोखरा एभेन्जर्सलाई ५३ रनको फराकिलो अन्तरले पराजित गरेको विराटनगर आफ्नो अपराजित यात्रा कायमै राख्ने योजनामा हुनेछ ।

मङ्सिर १ गतेदेखि सुरु भई २७ गतेसम्म सञ्चालन हुने एनपीएलको दोस्रो सिजनमा दर्शकहरूको बाक्लो उपस्थिति रहँदै आएको छ । लिग चरण, तीन प्लेअफ र फाइनल गरी कुल ३२ खेल हुने यस प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीको सहभागिता रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री