- अशोक सापकोटा
काठमाडौं । नेकपा एमालेले पार्टीको नीति र नेतृत्वको रक्षाका लागि अर्धसैनिक झल्को दिने गरी ‘नेसनल भोलेन्टियर फोर्स’ (एनभीएफ) गठन गरेको छ । राज्यले प्रमुख प्रतिपक्षी दलका नेता लगायतको सुरक्षाकर्मी कटौती गरेपछि एमालेले आफ्नै स्वयम्सेवक दस्ता तयार गरेको हो ।
बबरमहलस्थित कार्की व्यांक्वेटमा आयोजित एक विशेष समारोहका बीच एमाले अध्यक्ष केपी शर्मा ओलीले औपचारिक रूपमा फोर्सको घोषणा गर्ने कार्यक्रम तय भएको छ । फोर्स घोषणाको पूर्वसन्ध्यामा एमाले निकट युवा तथा विद्यार्थीहरूले राजधानीमा शक्ति प्रदर्शन गरेका छन् ।
पूर्व निर्धारित कार्यक्रम अनुसार माइतीघर मण्डलामा भेला हुने तयारी गरिए पनि त्यहाँ ‘जेनजी’ समूहका युवाहरूले अवरोध सिर्जना गर्न सक्ने र घाइतेहरूको धर्ना जारी रहेका कारण मुठभेड टार्न एमालेले र्यालीको स्थान परिवर्तन गरेको थियो ।
बबरमहलमा एकत्रित भएका हजारौं युवाहरूले बानेश्वर क्षेत्रमा मार्चपास गरेका छन् । र्यालीको नेतृत्व एमाले युवा नेता महेश बस्नेत, युवा संघका अध्यक्ष क्षितिज थेबे लगायतले गरेका थिए ।




