अलपत्र कमला पुलमा मन्त्री घिसिङको ‘इन्ट्री’, भने- यो पुल बन्छ, हामी बनाउँछौँ

काठमाडौं । हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषा जोड्ने ‘लाइफ लाइन’ मानिने कमला नदीको पुल ठेक्का सम्झौता भएको १४ वर्ष बितिसक्दा पनि अलपत्र परेपछि विभागीय मन्त्री कुलमान घिसिङ आफैं स्थलगत निरीक्षणमा पुगेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मन्त्री घिसिङले शुक्रबार निर्माणाधीन पुलको अवस्था बुझ्न स्थलगत अनुगमन गरेका हुन् ।

पुल नबन्दा स्थानीय नागरिकले भोग्नुपरेको सास्ती र लामो रुट प्रयोग गरेर आवतजावत गर्नुपर्ने बाध्यताको प्रत्यक्ष महसुस गर्न मन्त्री घिसिङ धनुषातर्फबाट डुंगा चढेर कमला नदी पार गरी सिरहा पुगेका थिए । सिरहा पुगेपछि उनले युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तासँग संयुक्त रूपमा पुलको निरीक्षण गरे । निरीक्षण टोलीमा भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशवकुमार शर्मा र सडक विभागका महानिर्देशक विजय जैशीलगायत सहभागी थिए ।

पुल निर्माणमा भइरहेको चरम ढिलासुस्तीप्रति मन्त्री घिसिङले गम्भीर चासो व्यक्त गरे । स्थानीयको गुनासो सम्बोधन गर्दै उनले मधेशको विकासका लागि यो पुल महत्वपूर्ण भएकाले अब तीव्र गतिमा काम अघि बढाइने प्रतिबद्धता जनाए । ‘यो पुल बन्छ, हामी बनाउँछौँ,’ मन्त्री घिसिङले भने, ‘विगतमा पुल निर्माणमा भएका अनियमितताको सम्बन्धमा सम्बन्धित निकायले छानबिन गरिरहेको छ, दोषी देखिएकालाई कानुनबमोजिम कारबाही गरिनेछ ।’

उनले आगामी असारभित्रै पुल निर्माण सम्पन्न गरी यातायात सञ्चालनमा ल्याउने लक्ष्यका साथ काम गर्न निर्देशन दिए । २०६८ सालको जेठमा २४ करोड ९१ लाख (भ्याटसहित) लागतमा पप्पु लुम्बिनी जेभीसँग पुल निर्माणको सम्झौता भएको थियो । सम्झौताअनुसार २०७१ मंसिरमै पुल बनिसक्नुपर्ने थियो । तर, तोकिएको समयमा काम नसकिएपछि आठपटकसम्म म्याद थप भइसकेको छ । आठौं पटकको म्याद गत असारमा सकिएपछि निर्माण व्यवसायीले आगामी असारसम्मका लागि नवौं पटक म्याद थपको प्रस्ताव गरेका छन्, जुन अहिले प्रक्रियामा छ ।

निर्माणमा ढिलाइ मात्र होइन, प्राकृतिक विपत्तिले पनि पुललाई असर पुर्‍याएको छ । २०७८ असार १७ गते आएको बाढीले पुलका दुईवटा जग भासिन पुग्दा ४ वटा स्ल्याबमा क्षति पुगेको थियो । तीमध्ये दुईवटा स्ल्याब हटाइएको छ भने दुईवटा हटाउन बाँकी छ । विज्ञमार्फत माटो परीक्षण गरी परिमार्जित डिजाइन स्वीकृत भइसकेकाले अब पुनर्स्थापनाको काम अघि बढ्ने बताइएको छ ।

४६९ मिटर लामो र १२ वटा स्पान रहेको यो पुलको हालसम्म ८३ प्रतिशत भौतिक र ८२ प्रतिशत वित्तीय प्रगति भएको छ । निर्माण कम्पनीले हालसम्म २० करोड ४३ लाख भुक्तानी लिइसकेको छ । सम्झौताअनुसार पुलसँगै नदीको दुवै किनारतर्फ १३ सय मिटर नदी नियन्त्रण र दुई सय मिटर पहुँच सडक निर्माण गर्नुपर्ने छ । परिमार्जित डिजाइनबमोजिम सिरहातर्फका बाँकी स्ल्याब हटाउने, पायरको पायल क्याप र स्टिम ढलान गर्ने तथा बाँकी स्पानलाई बलियो बनाउने काम आगामी असारभित्र सम्पन्न गरी पुल सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री