सिमरा विमानस्थल आसपास आज पनि कर्फ्यु, दुई वडाध्यक्ष पक्राउ

काठमाडौं । बाराको सिमरा अशान्त बनेको छ । बुधबारदेखि सुरु भएको जेनजी प्रदर्शन र एमाले कार्यकर्ताबीचको झडपले उग्र रूप लिएपछि जिल्ला प्रशासन कार्यालय बाराले सिमरा विमानस्थल आसपास कर्फ्यु आदेश जारी गरेको छ । जेनजी प्रदर्शनकारीमाथि कुटपिट गर्नेमाथि कारबाहीको माग गर्दै बिहीबार पनि प्रदर्शन जारी रहेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रशासनले यो कदम चालेको हो ।

जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रद्वारा जारी आदेशअनुसार बिहीबार दिउँसो १ बजेदेखि साँझ ८ बजेसम्मका लागि कर्फ्यु जारी गरिएको छ । यस अवधिमा तोकिएको क्षेत्रभित्र कुनै पनि व्यक्तिलाई आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न पूर्ण रूपमा निषेध गरिएको छ ।

कर्फ्यु आदेश विरगञ्ज-पथलैया सडक खण्डको पथलैया चोक दक्षिणदेखि जितपुर लल्का पुलसम्म राजमार्गको दायाँबायाँ ५०० मिटरसम्म र सिमरा विमानस्थलको ५०० मिटर वरपर लागू हुनेछ ।

बिहीबार बिहानैदेखि सिमरा चोकमा जेनजीले प्रदर्शन जारी राखेका थिए । सडक अवरुद्ध गरेर प्रदर्शन गरेपछि प्रदर्शनकारी र प्रहरीबीच केहीबेर झडपसमेत भएको थियो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गर्नुपरेको थियो ।

बुधबार नेकपा एमालेको युवा संघको राष्ट्रिय जागरण कार्यक्रममा महासचिव शंकर पोखरेल र पोलिटब्युरो सदस्य महेश बस्नेत आउने थाहा पाएपछि उनीहरूको विरोधमा जेनजीले प्रदर्शन गरेका थिए । जेनजीको विरोध प्रदर्शनपछि दुवै नेता काठमाडौँबाट सिमरा जान सकेनन् । यसै क्रममा जेनजीले सिमरा विमानस्थलको गेटसमेत तोडफोड गरेका थिए ।

वडाध्यक्षसहित दुई जना पक्राउ
प्रदर्शनका क्रममा स्थानीय एमाले कार्यकर्ताले जेनजी प्रदर्शनकारीमाथि हातपात गरेका थिए । यस घटनामा संलग्न भएको आरोपमा जितपुर सिमरा उपमहानगरपालिकाका दुई जना वडा अध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष धनबहादुर श्रेष्ठ र वडा नम्बर ६ का अध्यक्ष कैमद्विन अंसारी रहेका छन् । उनीहरूविरुद्ध कुटपिटको आरोपमा जेनजी सम्राट भनिने साइकुस उपाध्यायले इलाका प्रहरी कार्यालय सिमरामा बुधबार नै जाहेरी दिएका थिए । बाराका प्रहरी प्रमुख सन्तोष तामाङले जाहेरीपछि श्रेष्ठ र अंसारीलाई पक्राउ गरिएको र अन्य संलग्नहरूको खोजी भइरहेको जानकारी दिएका छन् । पक्राउ परेका दुवै वडा अध्यक्ष एमालेबाट निर्वाचित भएका हुन् ।

जेनजीले घटनामा संलग्नलाई पक्राउ नगरे आन्दोलन गर्ने चेतावनी दिएपछि बिहीबार बिहानैदेखि प्रदर्शनमा उत्रिएका हुन् । यस घटनाले सिमराको राजनीतिक र सामाजिक वातावरण थप तनावपूर्ण बनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री