प्रधानमन्त्री सुशीला कार्कीले बोलाइन् सर्वदलीय बैठक, निर्वाचनमा जुट्न आह्वान गर्ने

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सर्वदलीय बैठक बोलाएकी छिन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार आज दिउँसो ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बोलाएकी हुन् ।

बैठकका लागि निर्वाचन आयोगमा दर्ता भएका सबै दलका प्रमुखहरूलाई आमन्त्रण गरिएको छ । निर्वाचन आयोगले फागुन २१ गतेका लागि तय गरेको प्रतिनिधिसभा निर्वाचनको तयारी गरिरहेका बेला प्रधानमन्त्रीले सम्पूर्ण दलहरूलाई निर्वाचनमा सक्रिय सहभागिताका लागि अपिल गर्न लागेकी हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार, यस छलफलको मुख्य उद्देश्य निर्वाचन प्रक्रियालाई समावेशी र जनमुखी बनाउँदै सबै राजनीतिक शक्तिलाई एकताबद्ध भएर अगाडि बढ्न प्रेरित गर्नु हो ।

प्रधानमन्त्री कार्कीले यसअघि पनि राजनीतिक संवादलाई निरन्तरता दिँदै आएकी छिन् । उनले यसअघि विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका नेताहरूसँग छुट्टै छलफल गरेकी थिइन् । त्यसैगरी, उनले युवा पुस्ताका प्रतिनिधिहरूसँग पनि निर्वाचन प्रक्रिया र समसामयिक राजनीतिक विषयमा विचार आदानप्रदान गरेकी थिइन् । बैठकमा दलहरुलाई सरकारले अहिलेसम्म गरेका काम कारबाहीबारे जानकारी दिइने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री