काठमाडौं । नेपाली कांग्रेसभित्र लामो समयदेखि जारी आन्तरिक किचलोप्रति तीव्र असन्तुष्टि व्यक्त गर्दै युवा नेता भुपेन्द्रजङ्ग शाहीले अब पार्टीको सम्पूर्ण शक्ति र ऊर्जा गाउँ-गाउँमा जनताका माझ पुगेर सङ्गठन सुदृढीकरणमा लगाउनुपर्नेमा जोड दिएका छन् । सानेपास्थित केन्द्रीय कार्यालयमा महिनौँदेखि चलिरहेको विवादले पार्टीलाई कमजोर बनाइरहेको भन्दै नेता शाहीले यसलाई तत्काल अन्त्य गरी सहमति र एकताका साथ अघि बढ्न सबै नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।
वर्तमान सङ्कटको घडीमा पार्टीभित्रै किचलो गरिरहनु दुर्भाग्यपूर्ण भएको शाहीको भनाइ छ । उनले भने, ‘नेपाली कांग्रेसले जति सक्दो चाँडो जनसम्पर्क विस्तार, प्रत्यक्ष सम्पर्क विस्तार, स्थानीय संरचना सुदृढीकरण र जनताको वास्तविक समस्या नबुझ्ने हो भने सङ्गठनात्मक रूपमा कमजोर बन्दै जाने जोखिम रहन्छ ।’
शाहीले समय, शक्ति र उत्साहको सही सदुपयोग केवल जनताको घरदैलोमा पुगेर मात्र सम्भव हुने बताए । ‘गाउँ-गाउँमा हिँडेर जनताको वास्तविक समस्या बुझौँ, नागरिकको विश्वास जितौँ,’ उनले थपे । पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि संवाद र सहकार्य अपरिहार्य रहेको भन्दै उनले पार्टी नेतृत्वलाई समग्र सङ्गठनको हितका लागि सहमति, मध्यमार्गी र व्यावहारिक निर्णय लिनसमेत सुझाव दिएका छन् ।
नेता शाहीले विषम परिस्थितिमा समेत केन्द्रीय समिति बैठक लामो समयसम्म अनिर्णयको बन्दी बन्नु दुःखद भएको टिप्पणी गरे । ‘यो विषम परिस्थिति हो, एक वर्षमा गर्ने काम एक महिनामा गर्नुपर्ने बेला छ, नियमित महाधिवेशन गर्न लाग्ने समय जति केन्द्रीय समिति बैठक लम्ब्याएर सकिँदैछ, एक सातामै बैठक सक्नुपर्थ्यो,’ कालिकोटमा रहेका शाहीले भने ।
गाउँमा बस्ने आम कार्यकर्ता पार्टी अनिर्णयको बन्दी बनेकोमा निराश भएको उनले बताए । ‘बहुमत, अल्पमत, पक्ष वा विपक्षका कुरा नेताहरूको हो, गाउँमा बस्ने र सधैँ पार्टीका लागि खटिरहने मानिस त पार्टीभित्र पूर्ण एकता र ठोस निर्णय कुरेर बसेका छन्, पार्टीले कुनै निर्णय लिन नसक्दा निराश छन्,’ शाहीले भने ।
अब सम्पूर्ण ऊर्जा र शक्ति गाउँ-गाउँमा केन्द्रित गर्दै जनतामाझ पुगेर सङ्गठन सुदृढीकरण र निर्वाचनको तयारीमा जुट्न उनले सबै नेता कार्यकर्तालाई सहमति र एकताबद्ध भएर लाग्न आग्रह गरेका छन् ।




