आजबाट दोस्रो एनपिएल, उद्घाटन खेलमा जनकपुर-काठमाडौं भिडन्त

काठमाडौं । विश्वभर फ्रेन्चाइज क्रिकेट लिगहरूको लोकप्रियता चुलिएको बेला, नेपालले आयोजना गरेको नेपाल प्रिमियर लिग (एनपीएल) ले पहिलो सिजनमै आफूलाई स्थापित गरिसकेको छ । आईपीएल, बिग ब्यास, सीपीएल जस्ता स्थापित लिगहरूसँगै एनपीएलले विश्वका सबभन्दा मूल्यवान फ्रेन्चाइज लिगहरूको शीर्ष पाँचमा पर्न सफल भएको थियो । अब दोस्रो सिजन अझ भव्यताका साथ त्रिभवुन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबारबाट सुरु हुँदै छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव तथा प्रतियोगिता संयोजक पारस खड्काले पहिलो सिजनको अपार सफलतापछि दोस्रो एनपीएललाई अझ उत्कृष्ट बनाउने चुनौती स्वीकारेको बताए । उनले सबै पक्षको साथ र सहयोगले यो सिजन पनि सफल हुने विश्वास व्यक्त गरे । करिब एक महिनासम्म चल्ने यो प्रतियोगिता मङ्सिर २७ गते उपाधि भिडन्तसँगै समापन हुने छ । यस पटक कुल ३२ खेल खेलिने छन्, जसमा सिङ्गल राउन्ड रोबिन, इलिमिनेटर र क्वालिफायर समावेश छन् ।

टिम र खेलाडी: विश्वस्तरीय प्रतिस्पर्धा
क्यानले गत वर्ष आठ सहरका नाममा टिमहरूलाई बिक्री गरेको थियो । यस पटक पनि तिनै आठ टिमहरू- च्याम्पियन जनकपुर बोल्ट्स, उपविजेता सुदूरपश्चिम रोयल्स, काठमाडौँ गोर्खाज, चितवन राइनोज, विराटनगर किङ्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र कर्णाली याक्स प्रतिस्पर्धा गर्दै छन् । सबै टिमले अक्सनमार्फत उत्कृष्ट खेलाडीहरू र विश्वका सुपरस्टार क्रिकेटरहरूलाई आबद्ध गरेर एकसे एक बलिया टिमहरू तयार पारेका छन् ।

प्रत्येक टिममा कम्तीमा चारदेखि अधिकतम छ जनासम्म विदेशी खेलाडी राख्न पाइने प्रावधान छ । यस पटक फाफ डुप्लेसिस, जेसन रोय, वायन पार्नेल, क्रिस लिन, इमरान ताहिर जस्ता ४० भन्दा बढी सुपरस्टार विदेशी खेलाडीहरूले एनपीएलको रौनक बढाएका छन् । खेलाडी मात्र होइन, विश्वका नामी प्रशिक्षकहरूको उपस्थिति पनि यस सिजनको अर्को आकर्षण हो । आठमध्ये पाँच टिमले विदेशी प्रशिक्षक आबद्ध गरेका छन् । गत वर्ष जनकपुर बोल्ट्सलाई च्याम्पियन बनाउने पुबुदु दसनायके यस पटक विराटनगर किङ्सको प्रशिक्षक बनेका छन् । जनकपुर बोल्ट्सले वेस्ट इन्डिजका महान् ब्याट्सम्यान शिवनारायण चन्दरपललाई मुख्य प्रशिक्षकका रूपमा भित्र्याएको छ भने काठमाडौँ गोर्खाजले नेपालका पूर्वप्रशिक्षक मोन्टी देसाईमाथि विश्वास देखाएको छ । पोखरा एभेन्जर्सले भारतका राजीव कुमार र लुम्बिनी लायन्सले भारतीय मूलका टिनु योहान्नालाई आ-आफ्नो टिमलाई च्याम्पियन बनाउने जिम्मेवारी सुम्पेका छन् ।

खड्काले यी विदेशी खेलाडी तथा प्रशिक्षकको आगमनले नेपाली खेलाडीहरूले मैदानभित्र मात्र होइन, मैदान बाहिरका अनुभव पनि साट्न सक्ने बताए । “यी हस्तीहरूको आगमनले अन्तर्राष्ट्रिय रूपमा पनि एनपीएलको चर्चा हुन्छ र नेपाली खेलाडीले पनि यो प्रतियोगितामार्फत राम्रो एक्सपोजर पाउनेछन्,” उनले भने ।

विदेशी क्रिकेटरहरूसँगको सम्झौताका विवरण खासै खुलाइएको छैन, तर नेपाली क्रिकेटरहरूले एनपीएलबाट राम्रै रकम प्राप्त गरेका छन् । प्रत्येक टिमका मार्की खेलाडीले जनही २० लाख रुपियाँ पाए भने अन्य घरेलु खेलाडीले अधिकतम १५ लाखदेखि न्यूनतम दुई लाख रुपियाँसम्म प्राप्त गरेका छन् । प्रतिभा खोजबाट छानिएका आइकोनिक खेलाडीहरूलाई पनि राम्रो रकम दिइएको छ । यसबाहेक, टिमहरूले प्रचारप्रसारमा पनि ठुलै रकम खर्च गरेका छन् ।

गत वर्ष एनपीएलमा एक अर्ब रुपियाँभन्दा माथिको कारोबार भएको थियो । सचिव पारसले दोस्रो संस्करणको ब्रान्ड भ्यालु दुई अर्ब रुपियाँभन्दा माथि पुर्याउने लक्ष्य रहेको बताए । उनले नेपाली क्रिकेट अब एक उद्योगका रूपमा विकसित भइरहेको अवस्थामा दोस्रो संस्करणमा अझ बढी कारोबार हुने विश्वास व्यक्त गरे । एनपीएल नेपालको सबभन्दा ठुलो बजेटको क्रिकेट प्रतियोगिता हो ।

दोस्रो एनपीएलको अर्को मुख्य विशेषता नेपालमा पहिलो पटक कृत्रिम प्रकाशमा क्रिकेट हुनु हो । लिगका नौ खेल दिउँसो र २३ खेल कृत्रिम प्रकाशमा हुने क्यानले जनाएको छ । सरकारले क्यानसँग मिलेर फ्लडलाइटका साथ त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नति गरेको हो । गत वर्षको एनपीएलको सफलता र नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय रूपमा प्राप्त गरेको निरन्तर सफलताले त्रिवि क्रिकेट रङ्गशालाको मुहार फेर्ने अवसर पाएको छ । यसपालिको एनपीएल रङ्गीचङ्गी दर्शक सिट र कृत्रिम प्रकाशका बिच खेलिने छ । हरेक खेलमा नौ हजार पाँच सय टिकट बिक्री गरिने छ, यद्यपि त्रिवि रङ्गशालाको दर्शक क्षमता १३ हजार रहेको छ ।

उद्घाटन खेल: जनकपुर बोल्ट्स भर्सेस काठमाडौँ गोर्खाज
दोस्रो एनपीएलको उद्घाटन खेल सोमबार साँझ ४ बजे च्याम्पियन जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाज बिच हुने छ । गत सिजनमा जनकपुरले काठमाडौँलाई पाँच विकेटले हराएको थियो । जनकपुर सोही लयलाई कायम राख्दै उपाधि रक्षा अभियानको सकारात्मक सुरुवात गर्ने योजनामा छ भने काठमाडौँ बदला लिने दाउमा छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री