काठमाडौं । एसवाई प्यानल नेपाल लिमिटेडले निष्काशन गरेको आईपीओको बाँडफाँड भएको छ। आज बिहान प्रभु क्यापिटल लिमिटेडमा भएको एक कार्यक्रमकामाझ एसवाई प्यानलको आइपीओ बाँडफाँड भएको हो।
क्यापिटलकाअनुसार, ४ लाख ७ हजार ६१५ जनाले मात्र १०/१० कित्ता सेयर प्राप्त गरेका छन् भने ६ जनाले १/१ कित्ता सेयर पाएका छन्। बाँकी १६ लाखभन्दा बढी लगानीकर्ताले सेयर हात खालि भएको छ।
एसवाई प्यानल नेपालको आइपीओमा २ करोड ३१ लाख ७८ हजार ४७० कित्ताको माग परेको थियो। जसमा, २० लाख ८७ हजार ३२० वैध आवेदन परेको छ भने १८ हजार ५४ आवेदन रद्द भएका छन्।
कम्पनीको जारी पूँजी १ अर्ब ३० करोड रुपैयाँ रहेको छ। सो मध्ये ४० प्रतिशत अर्थात् ५२ लाख ३२ हजार ५४८ कित्ता सेयर सर्वसाधारणमा निष्कासन गरिएको हो। कुल जारी पूँजीको २ प्रतिशत अर्थात् २ लाख ६१ हजार ६२७ कित्ता सेयर चितवनका प्रभावित स्थानीयलाई प्रदान गरिएको थियो।
बाँकी ३८ प्रतिशत अर्थात् ४९ लाख ७० हजार ९२० कित्ता सर्वसाधारणका लागि तोकिएको थियो। यसमध्ये १० प्रतिशत (४ लाख ९७ हजार ९२ कित्ता) विदेशमा रोजगारीमा रहेका नेपालीका लागि, ३ प्रतिशत (१ लाख ४९ हजार १२७ कित्ता) कर्मचारीका लागि तथा ५ प्रतिशत (२ लाख ४८ हजार ५४६ कित्ता) म्युचुअल फन्डका लागि छुट्याइएको थियो। बाँकी ४० लाख ७६ हजार १५६ कित्ता सर्वसाधारणका लागि खुला गरिएको थियो।
सेयर बाँडफाँडको नतिजा CDSC, मेरोसेयर र प्रभु क्यापिटलको वेबसाइटमार्फत हेर्न सकिन्छ।
आईसिआरए नेपालले कम्पनीलाई ‘ICRANP-IR BB’ रेटिङ प्रदान गरेको छ, जसले मध्यम जोखिम संकेत गर्छ।
सन् २०१७ मा स्थापना भएको यस कम्पनीले EPS तथा PUFF स्यान्डविच प्यानल, UPVC ढोका–झ्याल, स्टिल ढोका तथा EPS सामग्री उत्पादन गर्छ। दक्षिण कोरियाली कम्पनी SY Co. Ltd. को करिब ६३% स्वामित्व रहेको यस कम्पनीको कारखाना रत्ननगर, चितवनमा छ र देशभर ६२ डिलरमार्फत बिक्री हुँदै आएको छ।



